घटना व्यवस्थापन तथा सिफारिस प्रणाली सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

रुपन्देही जिल्लाको शुद्धोधन गाउँपालिका वडा नं १ परौतामा स्थानीय स्तरमा घटना व्यवस्थापन तथा सिफारिस प्रणाली सम्बन्धी सचेतनामूलक कार्यक्रम भएको छ । नमुना एककिृत विकास परिषद्को आयोजना, वडा नं १ को समन्वय र वर्ड भिजनको सहयोगमा कार्यक्रम भएको हो ।कार्यक्रमका प्रमुख अतिथिसमेत रहनु भएका वडा नं २ का वडा अध्यक्ष विष्णुप्रसाद वस्यालले भर्खरै वडा नं २ लाई वालविवाह मुक्त घोषणा गरी सकेको स्मरण गर्दै अब वडा नं १ लाई ६ महिनाभित्र बालमैत्री वडा घोषणा गर्ने उद्घोष भैसकेको बताउनु भयो ।
कार्यक्रमका विशिष्ट अतिथिसमेत रहनु भएका इलाका प्रहरी कार्यालय रन्यौराका प्रमुख केशव बहादुर बस्नेतले प्रहरीले सुरक्षा दिन व्यक्तिका घटनाहरुमा तत्काल रेस्पोन्स गर्ने पहिलो काम भएको र त्यसले धेरै हदसम्म समस्या समाधान गर्ने बताउँदै आफू र आफ्नो कार्यालय कुनै पनि समयमा सहयोगका लागि तयार रहेको बताउँनु भयो ।
कार्यक्रमका अध्यक्ष समेत रहनु भएका वडा नं १ का वडा अध्यक्ष उदयराज गडेरियाले वडामा चेतनाको अभावका कारण समय समयमा विभिन्न खालका घटना घटित हुने बताउँदै कुनै पनि सकारात्मक कामका लागि चेतनामूलक कार्यक्रमहरुबाटै मात्र सम्भव भएको कुरामा जोड दिनुभयो । कार्यक्रममा बोल्ने वक्ताहरुले वडा नं १ मा अझैपनि जन्म दर्ता, मृत्यु दर्ता, वसाई, सराई, छोडपत्र जस्ता पञ्जीकरण हुन नसकेको र यौन शोषण, बालविवाह, बाल श्रम, बाल हिंसा जस्ता क्रियाकलापले प्रशय पाइरहेको बताउँदै यस्तै चेतनामूलक कार्यक्रमका माध्यमबाट परिवर्तन ल्याउन सकिने विचार राखेका थिए । कार्यक्रममा वडा सचिव लक्ष्मण ज्ञवाली, शिशै माध्यमिक विद्यालयका प्रधानाध्यापक गुणानिधि घिमिरे, बालमैत्रीका लागि राष्ट्रिय सञ्जाल जिल्ला रुपन्देहीका अध्यक्ष अजय चौधरी, पत्रकार माधव ज्ञवाली लगायतले आफ्ना धारणा राखेका थिए । कार्यक्रममा वडा नं १ का जनप्रतिनिधि, शिक्षक, प्रहरी, टोल विकास संस्थाका पदाधिकारी, बाल क्लवका पदाधिकारी तथा सदस्यहरु, बुद्धिजीवि लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम नमुना एकीकृत विकास परिषद्की मुना कुँवरको सञ्चालनमा सम्पन्न भएको थियो ।