गृहमन्त्रीको जवाफप्रति कांग्रेसको आपत्ति, सर्लाही गोलीकाण्ड छानबिनको माग गर्दै सदन अवरुद्ध
काठमाडौं – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका सर्लाही जिल्ला इञ्चार्ज कुमार पौडेल तथा बालकको मृत्युको विरोधमा शान्तिपूर्ण धर्नामा बसेका सरोजकुमार सिंहको प्रहरीको गोलीबाट मृत्यु भएको घटनाको सम्बन्धमा संसदीय छानबिन समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधि सभाको बैठक अवरुद्ध पारेको छ । प्रतिनिधि सभाको मंगलवारको बैठकमा गृहमन्त्री रामबहादुर थापा बादलले जवाफ दिएका थिए ।
गृहमन्त्रीको जवाफ चित्त बुझ्दो नभएको भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै संसद अवरुद्ध गरेको हो । ‘माननीय गृहमन्त्रीको जवाफ स्पष्ट छैन, तथ्यको आधारमा छैन । मुठभेडका नाममा हत्या भएको छ । जुन ढंगले हत्या भयो, के मुठभेड भएको भए भाँचिएको हातले कसरी गोली चलाउनु भयो ?’ गृहमन्त्रीको जवाफप्रति कांग्रेस मुख्य सचेतक बालकृष्ण खाँणले प्रश्न गर्दै भने, ‘गृहमन्त्रीले लोकतन्त्रको रक्षाका लागि गोली चलाइयो भन्नु भएको छ, यो घोर आपत्तिजनक छ ।’
खाँणडले बालक हत्याको विरोधमा पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको बाँके चोकमा शान्तिपूर्ण धर्नामा बसेका व्यक्तिमाथि प्रहरीले गोली चलाएको घटनाप्रति पनि सरकारको आलोचना गरे । ‘सामान्य हवाई फायर गरेर पुग्ने ठाउँमा शान्तिपूर्ण धर्नामा बसेका नागरिकमाथि युद्धको समयमा प्रयोग हुने एसएलआर चलाउन मिल्छ ?’ उनले प्रश्न गरे ।
गृहमन्त्री थापाले शान्ति सुरक्षाका लागि प्रहरीले गोली चलाउँदा महतोमो मृत्यु भएको बताएका थिए । यसअघि आइतवार बसेको बैठकमा कांग्रेस र राजपाले सर्लाही गोलीकाण्डको विरोध गरेपछि सभामुख कृष्णबहादुर महराले संसद्मा जवाफ दिन गृहमन्त्रीलाई रुलिङ गरेका थिए ।खाँण बोलेपछि कांग्रेस र राजपाका सांसदहरूले वेल घेर्दै नाराबाजी गरेका थिए । कांग्रेसको विरोधपछि सभामुख महराले संसद्को बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए । दोस्रो बैठक शुरू हुन सकेको छैन ।