एजेन्सी –उपाधिको बलियो दाबेदार मानिएको भारतलाई पराजित गर्दै न्युजिल्यान्डले एकदिवसीय क्रिकेट विश्वकप २०१९ को फाइनलमा स्थान पक्का गरेको छ ।बुधबार सम्पन्न सेमिफाइनल खेलमा भारतमाथि १८ रनको रोमान्चक जित निकाल्दै न्युजिल्यान्डले फाइनलमा स्थान पक्का गरेको हो । न्युजिल्यान्डले अब उपाधिको लागि १४ जुलाईमा अष्ट्रेलिया र इंग्ल्यान्डबीचको सेमिफाइनलको विजेतासँग खेल्ने छ । २ सय ४० रनको विजयी लक्ष्य पछ्याएको भारतले अन्तिम ओभरमा अलआउट हुनुअघि २ सय २१ रन बनायो ।
चौथो ओभरमा नै आफ्ना प्रमुख तीन ब्याट्सम्यान गुमाएको भारतले तल्लोक्रममा राम्रो ब्याटिङ गरेपनि जित दर्ता गर्न सकेन । कप्तान विराट कोहलीसँगै ओपनरद्वय रोहित शर्मा र केएल राहुललाई समान १ रनमा गुमाएपछि भारत संकटमा परेको थियो ।दोस्रो ओभरको तेस्रो बलमा म्याट हेनरीले ओपनर रोहित शर्मालाई विकेटकीपर टम लेथमबाट १ रनमा क्याच आउट गराए । तेस्रो ओभरको चौथो बलमा कप्तान विराटलाई टेन्ट बोल्टले १ रनमा एलवी डब्लू आउट गरे । लगत्तै म्याट हेनरीले विकेटकीपर लेथमबाट ओपनर के एल राहुललाई १ रनमा क्याच आउट गराएपछि न्युजिल्यान्डले खेलमा पकड जमाएको थियो ।त्यस्तै १० औं ओभरको अन्तिम बलमा म्याट हेनरीले दिनेश कात्तिकलाई ६ रनमा क्याच आउट गराए । जेम्श निशमले उत्कृष्ट एक हातले क्याच आउट गराउनु अघि उनले २५ बलमा १ चौका प्रहार गरे । पाँचौ विकेटका लागि हार्दिक पान्ड्या र ऋषभ पन्तले ४७ रनको साझेदारी गर्दै केहि आसा देखाएका थिए ।
२३ औं ओभरको पाँचौ बलमा मिचेल सान्टनारले कोलिन डी ग्राण्ड होमबाट क्याच गराउँदै पन्तलाई ३२ रनमा आउट गरेपछि भारतको जितको सम्भावना झिनो मात्रै देखिएको छ । पन्तले ६२ बलमा ४ चौका प्रहार गरे । सान्टनारले नै हार्दिक पान्ड्यालाई ३१ ओभरको तेसो बलमा ३२ रनमा क्याच आउट भएपछि भारत ९२(६ को कमजोर अवस्थामा पुगेको थियो ।सातौं विकेटका लागि महेन्द्रसिंह धोनी र रविन्द्र जडेजाले १ सय १६ रनको साझेदारी गर्दै जितको संभावना कायमै राखेका थिए । तर बोल्टले ४८ ओभरको पाँचौ बलमा रविन्द्र जडेजालाई ७७ रनमा कप्तान केन विलियमसनबाट क्याच गराउँदै शतकीय साझेदारी तोडेपछि भारतको जितको संभावना सकिएको थियो । जडेजाले ५९ बलमा समान ४ चौका र छक्का प्रहार गरेपछि खेलमा रोमान्चकता थपिएको थियो । महेन्द्र सिंह धोनीले ७२ बलमा १ चौका र छक्का सहित ५० रन जोडे ।
म्याट हेनरीले १० ओभरमा १ मेडन सहित ३७ रन खर्चेर ३ विकेट लिए । त्यस्तै ट्रन्ट बोल्टले पनि १० ओभरमा २मेडन सहित ४२ रन खर्चेर २ विकेट लिए । जेम्श निशमको नाममा १ विकेट रह्यो । मिचेल सान्टनारले १० ओभरमा २ मेडन सहित ३४ रन खर्चेर २ विकेट लिए ।मंगलबार म्यानचेस्टरमा टस जितेर पहिला ब्याटिङ थालेको न्युजिल्यान्डले वर्षाले खेल रोकिनु अघि ४६।१ ओभरमा ५ विकेट गुमाउँदा २ सय ११ रन बनाएको थियो । आज त्यहिस्थितीबाट सुरु गरेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ३९ रन बनायो ।न्युजिल्यान्डका लागि अनुभवी ब्याट्सम्यान रोस टेलर ६७ रनबाट खेल्न सुरु गरेका उनी ४८ ओभरमा रन आउट हुँदै ७४ रनमा पेभिलिएन फर्किए । उनले ९० बलमा तीन चौका र १ छक्का प्रहार गरे । मिचेल सान्टनार ९ र टेन्ट बोल्टले ३ रन जोडे । म्याट हेनरी १ र टम लेथम १० रनमा आउट भए ।
मंगलबार बर्षाले खेल रद्ध हुनुअघि कप्तान केन विलियमसनले ६७ रनको योगदान दिए । ३६ औं ओभरको दोस्रो बलमा युजभेन्द्र चहलले रविन्द्र जडेजाबाट क्याच आउट गराउनु अघि विलियमसनले ९५ बलमा ६ चौका प्रहार गरे ।न्युजिल्यान्डले चौथो ओभरको तेस्रो बलमा ओपनर मार्टिन गुप्टिललाई १ रनमा गुमाएको थियो । गुप्टिललाई जसप्रित बुमराहले कप्तान विराट कोहलीबाट क्याच आउट गराए । त्यस्तै हेनरी निकोलसले ५१ बलमा २ चौका सहित २८ रनको योगदान दिए । जेम्स निशम १२ र कोलिन डी ग्राडहोम १६ रनमा आउट भए ।भारतका लागि भुवनेश्वर कुमारले १० ओभरमा १ मेडन सहित ४३ रन खर्चेर ३ विकेट लिए । जसप्रित बुमराह,,हार्दिक पान्ड्या,रविन्द्र जडेजा र युजभेन्द्र चहलले समान १ विकेट लिए ।