बाजुरा – बाजुरामा आज बिहान जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । बाजुराको पिलुचौरबाट कालिकोटको लालीघाटतर्फ जाँदै गरेको जीप जगन्नाथ गाउपालिका–५ भुँका खोला नजिकै दुर्घटना भएको हो । दुर्घटनामा जीपका चालक र एक जना यात्रुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक दुबैजना मुगुका रहेको र उनीहरुको पहिचान खुल्न बाँकी रहेको स्थानीय लक्ष्मण जोशीले बताए ।
उनका अनुसार घाइते हुनेमा ८ जना मुगुका, १ जना बाजुराको स्वामीकार्तिक गाउँपालिकाका र २ जना जगन्नाथ गाउँपालिका–५ गोत्रीका रहेका छन् । एक जना भने सामान्य घाइते भएका छन् । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ । हालै निर्माण भएको कर्णाली करिडोरको सो कच्ची बाटोमा जीप र ट्याक्टर चल्ने गरेका छन् ।