रक्सीले मातेपछी – ‘१५ महिने छोरा र श्रीमतीको शरीरमा तारपिन तेल हालेर आगो सल्काइदिए’
धादिङ – २४ वर्षीया श्रीमती र १५ महिने छोराको शरीरमा तारपिनको तेल हालेर आगो लगाउने श्रीमान पक्राउ परेका छन् । सिद्धलेक गाउँपालिका–१ की बिमला दराई लम्साल र उनका १५ महिने छोरो जेनिसलाई सोमबार राति तारपिन तेल हालेर जलाउन प्रयास गर्ने २५ वर्षीय गणेश लम्साललाई प्रहरीले मंगलबार बिहान पक्राउ गरेको हो । घरको धन्सारमा भित्रबाट चुकुल लगाइ आमा छोरालाई लम्सालले रङ लगाउन प्रयोग हुने तारपिन तेल खन्याएर आगो सल्काएका थिए । घटनापछि छोरो बोकेर झ्यालबाट हाम फालेर ज्यान जोगाएकी बिमलाले पतिलाई हदैसम्मको कारबाही गराउन इन्सेक प्रतिनिधिसहित मानव अधिकारकर्मीहरुसँग आग्रह गरेकी छिन् ।
रक्सी खाएर आएपछि घरमा झगडा गरी घरभित्र लगेर मार्ने नियतले गणेशले आगो लगाएको स्थानीयले आरोप लगाएका छन् । आफूले बच्चा बोकेर प्रतिकार गर्न नसकेपछि झ्याल खोलेर भागेर बाँच्न सफल भएको घाइते बिमलाले बताइन् । घाइते बिमलाको गाउँबासीले उद्धार गरी जिल्ला अस्पतालमा उपचार भइरहेको छ । आगो लगाएर घाइते भएकी बिमलाको घाँटी, अनुहार, देब्रे हात, देब्रे खुट्टा र छातीमा गहिरोसँग पोलिएको छ । १५ महिने जेनिसको पेट, ढाड, देब्रे हात र देब्रे खुट्टामा पोलेको छ । गम्भीर घाइते भएका दुवैको जिल्ला अस्पतालले एकीकृत संकट व्यवस्थापन प्रणाली अन्तर्गत निःशुल्क उपचारको व्यवस्था मिलाएको जिल्ला अस्पतालमा सूचना अधिकारी कृष्णलाल श्रेष्ठले बताए । पक्राउ परेका श्रीमान गणेशलाई ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रुपक खड्काले बताए ।