काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को सचिवालय वैठक शुरु भएको छ । सोमबार विहान ११ बजेपछि पार्टी कार्यालय धुम्बाराहीमा शुरु भएको बैठकको अध्यक्षता पुष्पकमल दाहाल‘प्रचण्ड’ ले गरेका छन् । अर्का अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि उपचारका लागि सिंगापुर गएको समयमा प्रचण्डले सचिवालय बैठक बोलाएका हुन् ।
यसअघि अध्यक्ष केपी ओलीले बैठक आह्वान गर्ने र अध्यक्षता गर्ने गरेकोमा सचिवालयले ओलीको अनुपस्थितिमा प्रचण्डले बैठक बोलाउन सक्ने र पार्टी एकताको बाँकी काम टुंग्याउने जिम्मेवारी दिएको थियो । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको १५ महिना भन्दा लामो समयमा प्रचण्डले पार्टी बैठकको अध्यक्षता गरेको पहिलो पटक हो । आजको बैठकमा बैठकमा पाँच वटा महानगर कमिटी, पाँच वटा केन्द्रीय निकायको नेतृत्व तथा सात वटा प्रवास क्षेत्रको नेतृत्व चयन गर्ने एजेण्डा छन् ।