‘सरकारका नीतिले व्यवसायी संकटमा’

प्रकाशित मिति:

सबलपोस्ट/बुटवल – बुटवल उद्योग बाणिज्य संघको आयोजनामा सोमबार बुटवलमा भन्सार एवं कर सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सरकारले लिएको भन्सार एवं कर नीतिका कारण व्यबसायिक समस्या उत्पन्न भएकाले व्यबसायिले भोग्नु परेका समस्या समाधानकालागि सम्बन्धित कार्यालयका प्रमुखहरुसंग अन्तरक्रिया कार्यक्रम गरिएको हो ।कार्यक्रमको बारेमा भनाई राख्दै बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले खुला सिमानाकाका कारण बुटवल तथा आसपासका व्यबसायीहरु मारमा परेको उल्लेख गर्दै त्यसले सरकारको राजश्वमा समेत प्रभाव पारेको बताए । उनले उद्योगी व्यबसायीका यथार्थ समस्या पहिचान गरेर समाधानकालागि पहल गरिदिन समेत ती कार्यालयका प्रमुखहरुसंग आग्रह गरे ।त्यस अवसरमा यस क्षेत्रका उद्योगी व्यबसायीहरुले खुला सिमानाकाका कारण सिमा पारिको बजार मौलाउँदै गएको र त्यसको प्रत्यक्ष मारमा आफूहरु परेको तथा मुलुकको राजश्व असुलीमा समेत त्यसले प्रभाव पार्ने बताएका थिए ।

उनीहरुले सिमा पारिको मौलाएको बजारका कारण पुँजी पलायन अर्को चुनौती बन्दै गएको बताउँदै पुँजी पलायन रोक्नकालागि पनि पारि बजार गरेर फर्किनेहरुबाट राजश्व दाखिला गर्ने पद्धतीलाई प्रभावकारी बनाउन माग गरे । त्यस्तैगरी सरकारले भर्खरै लागु गरेको ढुवानीमा अनलाइन ट्रेकिङ् सिष्टम, श्रमिकको योगदानमा आधारित सामाजिक सुरक्षा ऐनका कारण व्यबसायीले व्यबसाय गर्न कठिन भएको बताउँदै त्यसलाई पुनःबिचार गर्न सरकारसंग आग्रह गर्दै पैरवीकालागि बिषयत कार्यालयका प्रमुखहरुलाई आग्रह गरेका थिए ।कार्यक्रममा बोल्दै भैरहवा भन्सार कार्यालयका प्रमुख कमलकुमार भट्टराईले आफूहरु सरकारले गरेका निर्णहरुको कार्यान्वयन गर्ने संयन्त्र भएकाले सरकारले ल्याएको कुरामा कार्यान्वयन गर्नुको विकल्प नरहेको बताउँदै कार्यान्वयनमा आएका निर्णयलाई पुनःबिचारकालागि नीतिगत रुपमै सुधार गराउने गरि सरकारसंग पहल गर्न आग्रह गरे । उनले खुला सिमा प्रमुख समस्या रहेको भन्दै खुला सिमाका कारण हुने असजिलो अफ्ठ्यारो समाधानका लागि भन्सार कार्यालयले मात्रै नसक्ने भएकाले सहयोगकालागि हातेमालो गर्न तयार रहेको भनाई राखे । व्यबसायीहरुले भन्सारमा जिएसटी बिललाई मान्यता दिन गरेको आग्रह प्रति उनले जस्ता पनि जिएसटी बिल आउन थालेकाले शंका गर्नु परेको उल्लेख गर्दै शंका गर्ने स्थितीको अन्त्य भए जिएसटी बिललाई नै मान्यता दिईने बताए ।

उनले ठूटीबारी र महेशपुर बिष्णुपुरा नाकाबाट भन्सार छली गरेर सामान भित्रिने गरेको सूचना प्राप्त भएको बताउँदै त्यसको रोकथामकालागि कार्यालयले निगरानी बढाएको जानकारी समेत गराए । व्यबसायीहरुले भन्सार छली गरि नेपाल भित्रिने व्यापारको कारण बैध रुपमा भन्सार गराएर गर्ने व्यापारीले प्रतिस्पधा गर्न नसक्दा समस्या भएको गुनासो गरेका थिए । त्यस्तै आन्तरिक राजश्व कार्यालय बुटवलमा प्रमुख कर अधिकृत अर्जुन ढकालले ढुवानीमा ट्रेकिङ् प्रणालीले बैध व्यापारलाई प्रोत्साहन गर्ने भएकाले त्यसबाट व्यबसायिहरु बिचलिन हुनु नपर्ने भनाई राखे । सुरुसुरुमा व्यबसायीले सिस्टम चलाउन नजानेका कारण केही समस्या भएपनि अन्ततः व्यबसायीकै पक्षमा राम्रो भएको बताए । उनले प्यान करदाताकालागि सजिलोको लागि भएको प्यान लिन कोही पनि डराउनु नपर्ने बताउँदै प्यान नं. लिँदा एक रुपैंया पनि पैसा नलाग्ने र प्यान लिएकै कारण एक रुपैंया पनि बढी कर नलाग्ने प्रष्ट पारे ।

राजश्व अनुसन्धान कार्यालय बुटवलका राजश्व अनुसन्धान अधिकृत नवराज अधिकारीले राज्यले लागु गरेका एने कानुन थाहा पाईन भन्दैमा क्षम्य नहुने बताउँदै कार्यान्वयनमा जानुको विकल्प नरहेको बताए । कार्यक्रममा बुटवल उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष जीवनप्रसाद वझा, पूर्व अध्यक्ष तथा सल्लाहकार नवराज श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष उज्जवल कसजु,महासचिव दिनेशप्रसाद श्रेष्ठ,संघका कार्यसमिति सदस्य शुक्र बस्याल, कपडा बस्तुगत समितिका सभापति त्रिबिक्रम श्रेष्ठ, व्यबसायीहरु रामेश्वरप्रसाद कसजु, प्रकाशकुमार श्रेष्ठ लगायतले सिमानाका, ढुवानीमा ट्रेकिङ् प्रणालीका कारण कारण व्यबसायिले भोग्नु परेका समस्या राख्दै योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा उद्योगी व्यबसायीलाई २१ प्रतिशत दायित्व थोपरिँदा व्यबसाय सञ्चालन गर्ने अवस्था नरहेको बताए ।