भारतबाट मोदीको भिडियो सम्बोधनः मेरा मित्र ओलीजी म चाँडै नेपाल आउँछु

प्रकाशित मिति:

काठमाडौं – नेपाल र भारतका प्रधानमन्त्रीले आ–आफ्नै निवासबाट मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको उद्घाटन गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीबाट एकै पटक स्वीच थिचेर पाइपलाइनको उद्घाटन गरेका हुन्। मोदीले स्वीच थिचेर डिजल ‘सेन्ड’ गरे भने ओलीले बालुवाटारबाट स्वीच थिचेर रिसिभ गरेका हुन् ।भारतको मोतीहारीबाट नेपालको अमलेखगञ्जसम्म ६९ किलोमिटर दुरीमा रहेको यो पेट्रोलियम पाइप लाइन दक्षिण एशियाकै पहिलो क्रस बोर्डर पाइपलाइन हो । यो पाइपलाइनको क्षमता २० लाख टन प्रतिवर्ष तेल आयात गर्न सक्ने रहेको छ । मंगलबार सिंहदरबारबाट प्रधानमन्त्री केपी शर्मा ओली र दिल्लीबाट भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्वीच थिचेर पाइपलाइनको उदघाटन गरे । प्रधानमन्त्रीद्वयले स्वीच थिचेपछि अमलेखगञ्जमा रहेका आयल निगमका अधिकारीहरुले बोतलमा तेल थापेर आदान–प्रदान गरे ।

पाइपलाइनको उदघाटनपछि प्रधानमन्त्री ओलीले छोटो मन्तव्य व्यक्त गर्दै भारतीय सहयोगको प्रशंसा गरे । भारतले गोरखा र नुवाकोटमा भूकम्पपछिको पुनर्निर्माणका लागि गरेको सहयोगको प्रतिवद्धताका लागि प्रधानमन्त्रीले भारतको प्रशंसा गरे । प्रधानमन्त्री ओलीले विकास अभियानमा भारतसँग साथसाथै अघि बढ्ने प्रतिवद्धता जनाए ।

प्रधानमन्त्री ओलीको मन्तव्यपछि भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री ओलीको प्रशंसा गर्दै उनको स्वास्थ्य र सक्रियताको प्रशंसा गरे । अनि आफ्ना मित्र प्रधानमन्त्री ओलीलाई भेट्न ईच्छुक रहेको बताउँदै चाँडै भेट्न आउने वचनसमेत दिए । नेपालमा जारी द्वीपक्षीय परियोजनाहरु राम्रोसँग अघि बढेको भन्दै मोदीले सन्तोष व्यक्त गरे । मोदीले पछिल्ला केही वर्षहरुमा भारत र नेपालबीच उच्च राजनीतिक तहमा ‘नजदिकी’ (निकटता) बढेको पनि बताए । र अन्तमा नेपाल आउने बाचा गरे ।