सबलपोस्ट / बुटवल – नेपाली कांग्रेसका नेता गगन थापाले एक महिलालाई बलात्कार गरेको आरोप लागेका सभामुख कृष्णबहादुर महरालाई पदबाट अलग भएर छानविनमा सहयोग गर्न सुझाव दिएका छन् । मंगलबार विहान प्रदेश ५ रिर्पोटर्स क्लब बुटवलले गरेको पत्रकार सम्मेलनमा धारणा राख्दै नेता थापाले सञ्चारमाध्यममा आएको विषय गम्भीर भएको बताउँदै छानविनमा सहयोग गर्न सभामुखले पद भन्दा बाहिर बस्नुपर्ने सुझाव दिएका हुन् । नेता थापाले सभामुखमाथि लगाइएको आरोपले आफू प्रतिनिधी सभाको सदस्यका हैसियतले स्तब्ध भएको समेत बताए ।
सभामुखजस्तो गरिमामय पदमा रहेका महरामाथिको यो आरोप देश कै प्रतिष्ठासँग जोडिएकोले घटनाको गम्भीर छानविन हुनु पर्ने नेता थापाको धारणा थियो । ‘यो केसलाई ढिसमिस पार्ने प्रयास नहोस,’ नेता थापाले भने, ‘गहिराइमा गएर छानविन गरिनुपर्छ र सभामुखमाथि लागेको आरोप पुष्टि भए सामन्य नागरिकलाई हुने कारवाही उहाँलाई हुनुपर्छ ।’ यदि महिलाले गलत आरोप भए उनलाई पनि कारवाही गर्नुपर्ने माग राखे । फरक प्रसङ्गमा नेता थापा नेपाली काँग्रेस भातृसंगठनको म्याद थपिएको र अब छिटै भातृसंगठन विवाद मिलाउने र प्रदेश जिम्मेवारी तोकिने बताए । हिजो गुल्मीको हाडहाडेमा नेपाली काँग्रेसले आयोजना गरेको एक कार्यक्रममा सहभागी भएर थापा बुटवल आइपुगेका हुन् ।