तारा आचार्य/विराटनगर- जोगवनीमा माइतीपक्षले दाइजो नदिएको भन्दै एक महिलाको निर्मम हत्या भएको छ । विराटनगर–११ पञ्चमुखी चोकका मनिकचन्द सहनीकी २२ वर्षीया छोरी रञ्जुदेवी सहनी बहरदार को जोगवनीमा हत्या भएको हो ।रन्जुको हत्यापछि भारतको अररिया जिल्लास्थित परवाना नदीको मिरगन्ज पुल नजिकै शवलाई पानीमा डुबाएर राखेको अवस्थामा भेटिएको छ । उनको शव स्थानीयबासीले खोलामा देखेपछि जोगबनी प्रहरीलाई खबर गरेका थिए । प्रहरीको निर्देशनमा मृतकका शवलाई आफन्तले खोलाबाट निकालिसकेका छन् ।
शवको पोष्टमार्टमपछि नेपाल ल्याएर दाहसंस्कार गरिने मृतकका माइती पक्षले बताएका छन् । हत्यामा संग्लन चार जनालाई भारतीय प्रहरीले नियन्त्रण गरेको छ । जोगबनी प्रहरी थानाका ईन्चार्ज अफताब अहमदका अनुसार रन्जुका श्रीमान् भीम बहरदार, जेठाजु अर्जुन बहरदार, ससुरा सैनी बहरदार, छिमेकी शिवानन्द मुखियालाई नियन्त्रणमा लिइएको छ ।हत्यामा संलग्न चारजना विरुद्ध रन्जुका माइती पक्षले भारतीय प्रहरी समक्ष ज्यान मुद्दा दर्ता गराएका छन् । नियन्त्रणमा परेका ४ जनामाथि थाना कार्ड नम्बर ३०३ र १९ को दफा ३०४ बि, २०१ र भारतीय दण्ड विधान ३४ अन्तर्गत मुद्दा दर्ता भइसकेको जोगबनी प्रहरी थानाले जनाएको छ ।
यस्तो छ रन्जुको हत्याको कारण
गत फागुनमा भारतको अररिया जिल्ला तकिया निवासी २५ बर्षीय भिम बहरदारसँग रन्जुदेवीको विवाह भएको थियो । विवाहपछि बहरदार परिवारले पटक–पटक रन्जुलाई दाइजोको विषयमा मानसिक र शारीरिक यातना दिँदै आएका थिए । माइती पक्षले केही समय अगाडि मात्र मोटरसाइकलसमेत किनेर दिएका थिए ।‘हामीले भर्खरै मात्र ९० हजारको मोटरसाइकल किनिदिएका थियौं, रञ्जुका हजुरबुबा उमालाल सहनीले भने, ‘फेरी छोरीका सासु ससुरा र श्रीमानले २ लाख पैसा पसल गर्न भनेर मागे, त्यो दिन नसकेपछि यसरी हत्या भएको हो ।’यसअघि पनि छोरीलाई सासु–ससुरा र श्रीमानले पटकपटक दाइजोको लागि यातना दिएको उमालालले बताए । पछिल्लो माग गरेको दुईलाख नदिएकै कारण नातिनीले ज्यान गुमाउनु परेको उमालालको भनाइ छ ।बिगत दुई दिनदेखि हराएकी रञ्जुको बारेमा जोगवनी थानामा माइती पक्षले शनिबार नै उजुरी दिएका थिए । भारतीय प्रहरीले माइती पक्षको निवेदनका आधारमा परिवारका ४ जनालाई नियन्त्रणमा लिइसकेको छ । News24