जापानमा आँधीका कारण मृत्यु हुनेकाे संख्या ३६ पुग्याे, उद्धारमा खटिए ३१ हजार जनशक्ति
एजेन्सी – जापानमा आएको ‘हागिबिस’ नाम दिइएको शक्तिशाली आँधीका कारण मत्यु हुनेकाे संख्या ३६ पुगेकाे छ । यस आाँधीपछि बाढी र पहिरोमा परी हराईरहेका व्यक्तिको खोजी कार्य जारी रहेको उद्धारकर्मीहरुले बताएका छन् । आँधी प्रभावित व्यक्तिको खोजी र उद्धारका लागि सेना पनि परिचालन गरिएको बताइएको छ । यस आँधीको कारण कम्तीमा १७ व्यक्ति हराइरहेका र कम्तीमा एक सय जना घाइते भएका क्योदो समाचार समितिले जानकारी दिएको छ । घाइतेहरुको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।
आँधीका कारण विभिन्न स्थानमा डरलाग्दो पहिरो गएको र पानीको सतह बढेका कारण नदी किनाराका घर डुबानमा परेका छन् । यस आँधी जापानमा भइरहेको लोकप्रिय रग्बीको विश्वकप प्रतियोगिता नै ओझेलमा परेको छ । आँधीका कारण तीनवटा खेल रद्द भइसकेका छन् तर जापान र स्कटल्याण्डबीचको खेल भने तोकिएको समयमै हुने आयोजकहरुले बताएका छन् ।
आँधीको बखत रक्षा सेना, प्रहरी र दमकलकर्मीहरू सञ्चालन गरिरहेका छन् । जापानको रक्षा मन्त्रालयले सोमबार बिहानसम्म करिब ३१ हजार जनशक्ति उद्धार अभियान सञ्चालन गर्नका लागि परिचालन गरिएको जानकारी दिएको छ । आइतबार बिहानदेखि आँधीको वेगमा कमी आएको छ, तर मध्य जापानको नागानोमा भने बाढीको खतरा देखिएको छ । नागानोस्थित छिकुमा नदीको पानी आवासीय क्षेत्रमा पसेको र त्यहाँ बाढीको स्थिति उत्पन्न भएको उद्धारकर्मीले बताएका थिए । जापानी सेनाले मानिसलाई उद्धार गर्न हेलिकप्टरको प्रयोग गरिरहेका छन् । मानिसले घरका झ्याल र बाल्कोनीबाट उद्धारका लागि सेनालाई अनुरोध गरिरहेको देखिएको छ । नागानोमा एउटा बुलेट ट्रेन माटोमा गाडिएको अवस्थामा आधा मात्र देखिएको दृश्य टेलिभिजनले आइतबारनै प्रसारण गरेको थियो । हागिबिस आँधी जापानको होन्सु द्वीपमा शनिबार साँझ ७ बजे प्रवेश गरेको थियो । हालैका वर्षमा यो निकै शक्तिशाली आँधी हो । यो आँधी प्रतिघण्टा २१६ किलोमिटरभन्दा बढीको वेगमा थियो ।