महरालाई थप ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको आदेश

प्रकाशित मिति:

काठमाडौं-यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई बिहीबारबाट ७ दिनको म्याद थप गर्दै थुनामा राखी अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ ।सुदर्शन राज पाण्डेको एकल इजलासले अनुसन्धानका लागि ७ दिनको म्याद थप गर्न आदेश दिएको हो । दोस्रोपटक म्याद सकिएपछि महरालाई आज अदालत उपस्थित गराइएको थियो । अदालतले तेस्रोपटक म्याद थप गरेको हो ।

महरामाथि संघीय संसद सचिवालयमा कार्यरत महिलाले यौन दुर्व्यवहारको आरोप लगाएकी थिइन् । असोज १२ गते आइतबार महराले आफूमाथि बलात्कार प्रयास गरेको भन्दै संसद सचिवालयकी महिला कर्मचारीले त्यसको भोलिपल्ट सोमबार मिडियामार्फत घटना सार्वजनिक गरेकी थिइन् ।प्रहरीले घटना भएको दिनदेखि नै अनुसन्धान शुरु गरेको जनाए पनि असोज १७ गते महिलाको उजुरी परेपछि मात्रै महरालाई पक्राउ गर्ने प्रक्रिया अगाडि बढाएको थियो ।जरुरी महत्वको कार्यासञ्चालनका लागि गठन भएको काठमाडौं जिल्ला अदालतको इजलाशले असोज १९ गते महरालाई पक्राउ गर्न अनुमति दिएको थियो ।खबरहब बाट