धनुषा – भौतिक पूर्वाधारमन्त्रीबाट रघुवीर महासेठलाई हटाइएपछि उनकै निर्वाचन क्षेत्रका जनताले दिपावली गरेर खुसीयाली मनाएका छन् । गोकर्ण विष्टजस्ता राम्रो काम गरेका मन्त्रीलाई हटाइएकोमा देशभर विरोध भइरहँदा महासेठलाई हटाएकोमा भने उनकै जिल्लामा मैनवत्ती बालेर स्थानीयले खुसीयाली मनाका हुन् ।
धनुषाको लक्ष्मीनिया गाउँपालिका–४ कास्थानीय मतदाताले मैनबत्ती बालेर बिहीबार साँझ खुसीयाली मनाए । चुनावमा भोट हाले पनि मतदातालाई वेवास्ता गरेकोले मन्त्री पद गएकोमा खुसीयाली मनाइएको स्थानीयले बताए ।
‘हाम्रो भोटले चुनाव जितेर मन्त्री बने । तर, मन्त्री बनेपछि केही व्यक्तिलाई मात्रै पोसेर हाम्रो मतको अपमान गरे । उनका आसेपासेले उल्टै हामीमाथि दादागिरी देखाउँछन् । जनताका लागि काम नगर्ने मन्त्रीलाई हटाएर राम्रो भयो,’ दिपावलीमा सहभागी रामकुमार यादवलगायतले एक स्वरमा भने । उक्त दीपावलीमा लक्ष्मीनियाँका–४ का वडाध्यक्ष रोकश साह पनि सहभागी थिए । धनुषा क्षेत्र नम्बर ४ बाट महासेठ तत्कालीन नेकपा एमालेबाट निर्वाचित भएका थिए ।