अपडेट : प्रधानमन्त्रीको एपेन्डिसाइटिसको सफल अपरेशन

प्रकाशित मिति:

काठमाडौं – प्रधानमन्त्री केपी ओलीको एपेन्डिसाइटिसको अपरेशन सम्पन्न भएको छ। त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर सेन्टरमा सफल अपरेशन भएको हो। त्रिवि शिक्षण अस्पतालका ग्याष्ट्रोइन्टेरोलोजी, पित्त तथा कलेजो प्रत्यारोपण सर्जन डा. रमेश सिंह भण्डारीको टोलीले अपरेशन गरेको प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. अरुण सायमीले बताए । प्रधानमन्त्री अहिले अस्पतालमै आराम गरिरहेका छन् । चिकित्सकहरुले समय हेरेर घर पठाउने जनाएका छन् । प्रधानमन्त्री ओलीको पेट अत्यधिक दुखेपछि बिहान साढे ९ बजे अस्पताल भर्ना गरिएको थियो।

के हो एपेन्डिसाइटिस  ? एपेन्डिसाइटिस शरीरको एपेन्डिक्स नामक आन्द्राको भागमा हुने रोग हो । शरीरमा हुने छोटो र पातलो थैलीलाई एपेन्डिक्स भनिन्छ । जसको लम्बाइ दुईदेखि तीन इन्चसम्मको हुन्छ । यो मलद्वारसँग जोडिएको हुन्छ । एपेन्डिक्समा हुने दुखाइ र यो सुन्निनुलाई एपेन्डिसाइटिस भनिन्छ । एपेन्डिसाइटिस पेटको दुखाइबाट सुरु हुने गर्छ । यस्तो दुखाइ पटक–पटक हुन्छ । बिस्तारै दुखाइ पेटको तल्लो दाहिने भागमा सर्ने गर्छ, जहाँ एपेन्डिक्स हुन्छ । र, बिस्तारै दुखाइले गम्भीर रूप लिन थाल्छ ।

जसलाई एपेन्डिसाइटिस हुन्छ उसलाई भोक कम लाग्ने, अनुहार रातो देखिने हुन्छ । एपेन्डिसाइटिस भए छोटो समयमै पेटको सर्जरी गर्नुपर्ने हुन्छ । यस्तो अप्रेसनलाई एपेन्डेटोक्मी भनिन्छ । एपेन्डिसाइटिसको सम्भावना हुनेबित्तिकै सर्जरी गर्ने सल्लाह दिने गरिन्छ । किनभने, एक त यसको स्पष्ट निदान गर्न गाह्रो छ । अर्को एपेन्डिक्स फुट्नुभन्दा शल्यक्रिया गर्नु कम जोखिमयुक्त हुन्छ । यसको शल्यक्रिया गर्दा अन्य दीर्घकालीन समस्याबाट पनि बच्न सकिन्छ ।