क्रान्तिकारी पत्रकार संगठनको दाङमा बृहत अन्तर्क्रिया सम्पन्न,सरकारले प्रेस स्वतन्त्रता र मानवअधिकारको गम्भीर उल्लङघन गरेको दाबी
दाङ सवादँदाता असोज ४ \ दाङका पत्रकार तथा अधिकारीकर्मीले सरकार मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति अनुदार बन्न खोजेको टिप्पणी गरेका छन् । क्रान्तिकारी पत्रकार संगठन,केन्द्रीय समितिको आयोजना र दाङ जिल्ला समितिको संयोजनमा दाङको घोराहीमा भएको अन्तरकृयामा सहभागि वक्ताहरुले अपेक्षा अनुसार संविधानले प्रत्याभूति गरेका अधिकारलाई कार्यान्वयनमा कामजोर देखिएको बताए । उनीहरुले पछिल्लो समय मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालागि फेरी आवाज उठाउनुपर्ने र आन्दोलित हुने पर्ने अवस्था आउनु दुखद रहेको बताए । कार्यक्रममा मानवअधिकार सञ्जाल दाङका संयोजक केशब कुमार शर्माले स्वतन्त्र प्रेसविना मानवअधिकारको रक्षा हुन नसक्ने बताउनुभयो ।
अहिलेपनि राज्यका निकाय मानवअधिकारप्रति जिम्बेवार बन्न नसकेको टिप्पणी गर्नुभयो । नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनले समाचार लेखेकै भरमा कुनैपनि पत्रकारमाथी धरपकड गर्ने कार्य बन्द गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले पत्रकारले समाचार लेखेकै भरमा पक्राउ गर्ने तथा मुद्धा चलाउने कार्य आपत्तिजनक रहेको उल्लेख गर्नुभयो । अध्यक्ष प्रियासनले प्रेस स्वतन्त्रता विरोधी कानुनहरु संसोधन तथा खारेज गर्न माग गर्नुभयो । नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष प्रताप रेग्मीले सरकार प्रेस प्रति अनुदार रहेपनि अब चाहेर पनि कसैले प्रेस स्वतन्त्रता खोस्न नसक्ने बताउनुभयो । उहाँले समाजवाद उन्मुख भन्ने राज्यले प्रेसमाथी दमन गर्ने कुरा विश्वास गर्न नसकिने बताउनुभयो । तर, अहिलेको दुईतिहाई सरकार भनिएपनि लरखराईरहेको टिप्पणी गर्नुभयो ।
अखिल नेपाल शिक्षक संगठन प्रदेश नम्बर ५ का संयोजक नारायण भण्डारीले सरकारले फरक विचार राख्नेविरुद्ध दमनमा उत्रिएको भन्दै आलोचना गर्नुभयो । भण्डारीले शिक्षकहरुको अवस्था दयनिय रहेको र खानपनि नपुग्ने स्थिति रहेको भन्दै गम्भिर बन्न सरकारलाई आग्रह गर्नुभयो । पत्रकार नरेन्द्र केसीले अहिले सरकार फरक विचार र आस्था राख्नेप्रति अनुदार बन्न खोजेको बताउनुभयो । उहाँले मानवअधिकार रक्षाका लागि गभ्भिर बन्न सरकारलाई आग्रह गर्नुभयो । राप्ती पोष्ट दैनिकका सम्पादक शरद अधिकारीले प्रेस तथा अभिव्यक्तिलाई अफ्ठेरो पार्ने कानुनहरुलाई संसोधन गर्नुपर्नेमा जोड दिनुभयो ।
हिजोका दिनमा जटिलताकाबीचमा पनि पत्रकारिता गरेको तर अहिलेपनि खासै परिवर्तन हुन नसकेको गुनासो गर्नुभयो । नेकपाका सचिवालय सदस्य किरण डाँगीले अहिले आफ्नो पार्टीलाई अहिले शान्तिपूर्ण कार्यक्रम समेत गर्न नदिइएको बताउनुभयो । आफ्नो नेतृत्वलाई धरपकड गरिरहेको भन्दै कुनै कार्यक्रम गर्दापनि अनावश्यक निगरानी गरिरहेको बताउनुभयो । उहाँले सरकारबाट वार्ताको आव्हान भएपनि केका लागि भन्दै प्रश्न गर्नुभयो । उहाँले अहिले शान्तिपूर्ण कार्यक्रम गर्न नदिने तथा अनुमानका भरमा सरकारले दुःख दिने काम गरेको बताउनुभयो । सगठँनका केन्द्रीय अध्यक्ष प्रकाश डुम्रेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन संगठनका महासचिव हिम विष्टले गरेका थिए भने स्वागत मन्तव्य काेषाध्यक्ष जानकी चाैधरीले गरेकी थिइन् ।