कालापानीलाई अन्तर्राष्ट्रियकरण गरिए समस्या झन् जटिल बन्छः प्रचण्ड

प्रकाशित मिति:

धनगढी, मंसिर । नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिला राजनीतिक र कूटनीतिक पहलबाट संवाद गरेर कालापानी सीमा समस्याको समाधान गर्ने कोशिश गर्नुपर्ने बताएका छन्।प्रेस संगठन नेपालले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कालापानीको विषयलाई अन्तर्राष्ट्रियकरण गरिएमा समस्या झन् जटिल बन्ने बताएका हुन्।सर्वपक्षीय सर्वदलीय बैठकको सुझावानुसार नै सरकारले सो विषयमा भारतलाई पत्र पठाएको बताउँदै त्यसको जवाफ भने आइनसकेको उनले बताए।पत्रकारहरुको प्रश्नमा प्रचण्डले कालापानी, लिपुलेक र लिम्पियाधुराबारे सर्वपक्षीय सर्वदलीय बैठक गरेर सरकारले आफ्नो धारणा स्पष्ट पारिसकेको बताए। उनले भने,‘लिम्पियाधुरा नै महाकाली नदीको मुहान हो, महाकाली सीमा नदी हो, यसमा कहीँ कतै अन्योल छैन।’

उनले प्रधानमन्त्री अस्पतालमा उपचाररत रहेको अवस्थामा अर्का अध्यक्ष अध्ययन भ्रमणमा जाने कुरा स्वाभाविक नदेखिँदा हाललाई चीन भ्रमण स्थगन गरिएको स्पष्ट पारे।प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा र निर्वाचनका चरणपछि अब अलि बढी ध्यान राज्यद्वारा विगतमा पछि पारिएका क्षेत्रका जनताको विकास र समृद्धिमा केन्द्रित हुनुपर्छ भन्ने पार्टीको नीति रहेको स्पष्ट पारे। मन्त्रिपरिषद् पुनःगठनपछि सरकारको काममा गति आउने अपेक्षा र विश्वास जनता, सरकार र पार्टीले गरेको पनि उनले बताए।