पाल्पा — जिल्लाको तानसेन–रानीमहल हुँदै स्याङ्जाको सटुका जोड्ने पक्की मोटरेवल पुल सोमबारदेखि सञ्चालनमा आएको छ । पुल सञ्चालन भएपछि सवारी साधनबाट स्याङ्जाको सटुका हुँदै आलमदेवी मन्दिर, मिर्मी जान अब सहज भएको छ । तानसेनदेखि मिर्मी पुग्न पहिले ६० किलोमिटर बढी पर्थ्यो । अब ३० किलोमिटरमै पुगिनेछ । आलमदेवी पुग्न पहिले ७० किलोमिटर थियो, अब २० किलोमिटरमै पुग्न सकिने भएको छ । पक्की पुलले स्याङ्जाको पश्चिम भेगका बासिन्दालाई तानसेन र रूपन्देहीको बुटवल पुग्न बाटो छोटिएको छ । कालीगण्डकी गाउँपालिका, सटुकाका सागरमणि पाण्डेयका अनुसार वर्षौंदेखिको सपना अहिले बल्ल पूरा भएको छ । ‘विगतमा तानसेनबाट रानीमहल मोटरबाटो ल्याउन पनि धेरै दिन श्रमदान गरियो,’ उनले भने, ‘हामीलाई मिर्मी हुँदै सिद्धार्थ राजमार्गको जिरो, राम्दी भएर जान धेरै असजिलो थियो ।’ आलमदेवी, सटुका, वैघा, टङ्ल्याहा, कारिकोटलगायतका बासिन्दालाई तराई झर्न र नजिकको बजार तानसेन जानका लागि धेरै छोटो पर्नेछ ।
सोमबार तानसेनबाट छुटेको जिप रानीमहल हुँदै स्याङ्जाको सटुका पुगेको छ । अहिलेलाई एउटा जिपले सेवा दिने स्थानीय मणि पाण्डेयले बताए । उनका अनुसार पुल नहुँदा रानीमहलबाट दुई–तीन किलोमिटर पैदल हिंड्नुपरेको थियो । अब सडक स्तरोन्नति गरेपछि सहज पहुँच हुने उनले बताए । ‘बुटवलबाट ५४ किलोमिटरमै सटुका पुगिने भयो,’ उनले भने, ‘अहिले सय किलोमिटरभन्दा बढी यात्रा गरेर मात्र गाउँमा सवारी साधन लैजानु परेको थियो ।’ रानीमहलदेखि आलमदेवी पाँच र मिर्मी १७ किलोमिटरको दूरीमा छ ।लामो संघर्ष, कठिनाइ र प्रयासपछि रानीमहल क्षेत्रबाट सटुकासम्म जिप पुगेको रानीमहलका होटल व्यवसायी सुरेश पाण्डेयले बताए । यसै वर्ष तानसेनदेखि रानीमहलसम्मको सडक प्रदेश सरकारले स्तरोन्नति गर्न बजेट विनियोजन गरेको छ । अहिले सात किलोमिटर कालोपत्रे भइसकेको छ । स्थानीय सरोकारवालाहरूको श्रम र योगदानमा सुरुआत भए पनि साधन स्रोतको अभाव थियो । भौगोलिक कठिनाइका कारण समयमा सम्पन्न हुन सम्भव नभएको स्थानीय युवराज पाण्डेयले बताए ।
रानीमहलबाट सटुका जोड्ने पक्की पुल ०७१ असार ९ मा सम्झौता भएर काम अघि बढेको हो । निर्माण व्यवसायीको ढिलाइका कारण समयमा पुल निर्माण हुन सकेको थिएन । यसलाई पुल योजना पश्चिम सेक्टर क्षेत्र नम्बर ४ बर्तुङले हेर्दै आएको छ । पुल योजनाकी सूचना अधिकारी अञ्जु परियारका अनुसार १६ करोड ८९ लाख ८१ हजार रुपैयाँ लागतमा पुल निर्माण सम्पन्न भएको हो । ०७५ कात्तिक मसान्तसम्म पुल निर्माण सक्नुपर्नेमा ०७६ पुस मसान्तसम्मका लागि म्याद थपको प्रक्रियामै रहेको उनले बताइन् । अहिलेसम्म २० करोड ३० लाख १४ हजार रुपैयाँ निर्माण व्यवसायी सपना–हिमदुङ एण्ड थोकर–त्रिशूली जेभीका नाममा भुक्तानी भइसकेको छ ।यस पुलको डिजाइनमा भएको त्रुटिलगायतका कारण लागत बढेको थियो । निर्माण व्यवसायी कम्पनीले पहुँच मार्गको स्याङ्जातर्फ २ सय ५० मिटर र पाल्पातर्फ ७ सय ५० मिटर कालोपत्रेको कामका साथै रंगरोगनसमेत अझै गरेको छैन । सूचना अधिकारी परियारका अनुसार ९९ प्रतिशत काम सकिएको छ ।@ekantipur