२४ असोज रामेछाप । नेपाल रेडक्रस सोसाइटी रामेछापले मन्थली नगरपालिका वार्ड नं. १ का जोखिमवर्गमा सूचिकृत ९ जना लाभग्राहीलाई थप ५० हजार रुपैया अनुदान रकम उपलव्ध गराएको छ । एक कार्यक्रमका बिच आज (बुधबार) मन्थलीमा प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माले उक्त रकमको चेक लाभग्राहीलाई हस्तान्त्रण गरेका हुन् । सो अबसरमा बोल्दै प्रमुख जिल्ला अधिकारी शर्माले पुर्न निर्माणकार्यमा वृद्धवृद्धाहरुको गरिएको उच्च प्रयासको स्रहाना गर्दै यही सक्रियताले पुर्ननिर्माण कार्यले गति लिएको धारणा राखे ।
जोखिम वर्गमा परेका लाभग्राही पहिचान सम्बन्धी कार्यविधि २०७४ ले ७० बर्षमाथिका वृद्धवृद्धा, ६५ बर्ष नाघेका अशक्त एकल महिला, दृष्टिविहीन, अपांगता भएका व्यक्ति तथा १६ बर्ष मुनिका नाबालिगलाई जोखिम वर्ग लाभग्राहीका रुपमा परिभाषित गरी थप रकम उपलब्ध गराउने निर्णय गरे पछि जिल्लामा पहिलो पटक उक्त रकम हस्तान्तरण गरिएको नेपाल रेडक्रस सोसाइटी रामेछापका सभापति शिब कुमार कार्कीले जानकारी दिए । नेपाल रेडक्रस सोसाइटी रामेछापका जिल्ला कार्यक्रम संयोजक जयराम बस्नेतले रेडक्रसले स्थायी निजी आवास निर्माणमा थप सहयोग गर्ने उद्देश्यअनुरुप राष्टिय पुननिर्माण प्राधिकरण र नेपाल रेडक्रस सोसाइटीबीच भएको सम्झौता अनुरुप जिल्लामा जोखिमबर्गमा सुचिकृत १ हजार २ सय ६३ लाभग्राहीको आवश्यक तथ्यांक संकलन पश्चात सामाजिक प्राबिधिक सहयोग उपलब्ध गराइरहेको बताए । सोही अवसरमा नेपाल रेडक्रस सोसाइटीले निर्माण गरेको सुरक्षित पुननिर्माणमा भुकम्पिय सुरक्षा विधि अपनाउनुपर्ने सचेतनात्मक वृत्तचित्र “चलायमान पहाड” को समेत प्रर्दशन गरिएको थियो ।
रेडक्रस रामेछापले यस बाहेक नियमित कार्यक्रम अन्तरगत जिल्लाका रामपुर र मन्थलीमा गरि १०६९ घरधुरीमध्ये १०१९ जनालाई पहिलो किस्ता उपलब्ध गराएकोमा ८११ जनाले नीजि आवास निर्माण सम्पन्न गरेका छन भने २०८ जना निर्माण प्रक्रियामा रहेका छन । समुदायको सक्रिय सहभागिता तथा परामर्शमा भुकम्प प्रभावितका नीजि आवास सँगसँगै, खानेपानी, सरसफाई तथा स्वच्छता, जिविकोपार्जन र स्वास्थ्यका क्षेत्रमा एकिकृत वृहद कार्यक्रम संचालन गरिरहेको छ । यसका अतिरिक्त संस्थागत क्षमता विकासमा पनि जोड दिइ विपद प्रतिकार्यका लागि आवश्यक जनशक्ति तयार गर्ने, उपकरणकहरु सहयोग गर्ने, रक्त संचार सेवा तथा गोदामघर निर्माणमा जोड दिएको संयोजक बस्नेतले जानकारी दिए ।