अत्यावश्यक बाहेक चापाकोटका सबै सेवा बन्द

८ असार २०७७, सोमबार ०   बिचार / प्रतिक्रिया


भवनी अधिकारी स्याङ्जा । नगरपालिकाभित्र एकयुवामा कोरोना संक्रमण देखिएपछि चापाकोट नगरपालिकाले स्वास्थ्य सेवा बाहेकका सबै सेवा बन्द गरेको छ । समुदायमा रही कोरोना संक्रमितलाई सेवा पुर्‍याउँदै आएका ती युवामा आइतबार कोरोना भाइरस संक्रमण पुष्टि भएपछि नगरपालिकाले स्वास्थ्य तथा अत्यावश्यक सेवाबाहेक अन्य सेवा अनिश्चितकालका लागि बन्द गरेको हो।आइतबार मात्र चापाकोट नगरका ६ जनाको पीसीआर रिपोर्ट पोजिटिभ देखिएको थियो । ती मध्ये ५ जना भारतबाट आएर क्वारेन्टाइनमा बसेका हुन् भने अर्का एकजना समुदायमा बस्दै आएका थिए । समुदायमा कोरोना भाइरस संक्रमण भेटिएपछि चापाकोट नगरपालिकाले सबैलाई सचेत हुन आग्रह गर्दै उच्च सर्तकता अपनाउन सूचित गरेको छ ।

नगरप्रमुख शिवकुमार गिरीद्धारा सोमबार जारी प्रेस विज्ञप्तिमा अत्यावश्यक सेवाबाहेक सबै सेवा बन्द गर्न र अत्यावश्यक काम बाहेकका कामा बाहिर ननिस्कन समेत नगरवासीलाई अनुरोध गरिएको छ ।भारतबाट आएका १३ र नगरवासी १ गरी १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गल्याङ नगर अस्पतालको आइशोलेसनमा १० जना र कालिका सामुदायिक अस्पतालमा ४ जना छन् । उनीहरुको अवस्था सामान्य छ । समुदायमा देखिएका संक्रमितको सम्पर्कमा रहेका व्यक्तिको स्वाब परीक्षणको तयारी भइरहेको विज्ञप्तिमा उल्लेख छ ।संक्रमणको जोखिम न्यूनिकरण गर्न अर्को सूचना जारी नभएसम्मका लागि स्वास्थ्य सेवाबाहेक नगर र वडा कार्यालयका योजना र दैनिक प्रशासनिक सबै काम सोमबारबाट बन्द गरिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया