लुम्बिनीको विकासका लागि भैरहवाको विकास आवश्यक ः सांसद भुषाल

प्रकाशित मिति:

नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य तथा रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य घनश्याम भुसालले भैरहवाको विकास बिना लुम्बिनीको विकास हुन नसक्ने बताएका छन् । उनले लुम्बिनीको प्रवेशद्वार सिद्धार्थनगर, भैरहवाको विकासमा प्राथमिकता दिनुपर्नेमा जोड दिए । संसदीय सम्पर्क कार्यालय प्रतिनिधिसभा क्षेत्र नम्बर ३ ले भैरहवामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै भुसाालले यस क्षेत्र लुम्बिनीको गेट वे भएकाले यहाँको विकास विना अन्यत्र ठाउँमा समृद्धि सोच्न नसकिने जनाए ।

उनले निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भइसकेपछि हवाइजहाज आउँला भनेर सोचियो भने मुलुकले ऋण बोक्ने काम मात्र हुने बताउँदै मुलुकले करिब ३५ अर्ब रुपैंया विमानस्थलमा लगानी गरिरहँदा यसले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा भैरहवालाई खर्ब रुपैंयाँ दिनु पर्ने बताए । उनले भैरहवालाई विकसित गर्न विमानस्थलले भुमिका खेल्नुपर्ने बताए । नेता भुसालले यो क्षेत्रमा कृषि उत्पादनलाई एकीकृत रुपमा कसरी अगाडी बढाउने र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई कसरी अर्थतन्त्र र उत्पादकत्वसंग जोड्ने भन्ने कुरामा आफ्नो ध्यान केन्द्रीत भएको बताए । सरकारको तर्फबाट विशेष आर्थिक क्षेत्र(सेज) बन्द नभएको र सेजको काम कुनै बेला सरकारबाट रोकिए आफुलाई जानकारी गराउन आह्वान गरे ।
भुषालले पार्टीकासंग जनताको धेरै अपेक्षा रहेको र त्यो अपेक्षा अनुसार काम गर्न नसकिएकोले गुनासो आएको बताए ।उनले खासगरी पार्टी एकता प्रक्रिया केही ढिला भएका कारण केही समस्या आएको र एकता प्रक्रिया ढिलो भएकोले दुनिया समक्ष माफी माग्नुपर्ने बताए । उनले आफूले भने अनुसार भएको भए असार साउनसम्म तल्लो वडा कमिटीमा एकता प्रक्रिया टुंगी सकेको हुने बताए । अर्को प्रसंगमा ओमसतिया गाउँपालिकामा जनताको कारणले नभइ जनताको नाममा राजनीति गर्ने केही मान्छेबाट गाउँपालिकालाई दबाब दिएर ल्याण्ड फिल्ड साइट रोकिएको र साइट बनाउने ठाउँको बारेमा खोजी भइरहेकोले सम्भवत यसै वर्ष त्यो काम सुरु हुने उनले दावी गरे ।