सरकारको काम जनताले प्रत्यक्ष अनुभूती गर्न नपाएको प्रचण्डको भनाई

प्रकाशित मिति:

काठमाडौं, असार १० – सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको काम जनताले प्रत्यक्ष अनूभूती गर्न नसकेको बताएका छन्। बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी समितिको बैठकमा बोल्दै उनले सरकार जनतालाई अनूभूती हुने गरी काम गर्न असफल बनेको बताएका हुन्।सरकारले राम्रो काम गरिरहेको छ भन्ने अनुभूती हुन सकिरहेको छैन। जनताले सरकारको कामको अनुभूती गर्न नपाएका कारण समस्या देखा परेको छ,’ प्रचण्डको भनाइ उदृत गर्दै बैठकमा सहभागी एक नेताले काठमाडौंप्रेससँग भने, ‘यसका कारण के हो समिक्षा गरौं, छलफल गरौं।’

उनले अहिले नेकपालाई फुटाउन चौतर्फी प्रयास भइरहेको टिप्पणी समेत गरे। ‘अहिले हाम्रो विरुद्धमा धेरै शक्ति लागेका छन्। हामीलाई फुटाउन लागेका छन्,’ उनले भने, ‘अब पछि फर्कने ठाँउ छैन, छलफल गरेर समस्या समधान गर्नुपर्छ।’उनले नेकपाले दुई तिहाइ मत कुनै व्यक्तिका कारणले नआएको बताउँदै जनताले कम्युनिष्ट पार्टीको एकता, समृद्धी र विकासको चाहानाका कारण मत दिएको बताए। ‘कोही व्यक्तिका कारणले मात्रै जनताले हामीलाई मत दिएका होइनन्। त्यसैले कसैले त्यसको क्रेडिट लिइराख्नु उचित हुँदैन,’ उनले भने, ‘अहिले पार्टी र सरकारका अघि डरलाग्दा चुनौती छन्। त्यसलाई फेस गर्नुपर्छ।’

उनले केही समय अघि एकअर्का विरुद्ध भएका हस्ताक्षर संकलन अभियानको कुरा समेत बुधबारको बैठकमा कोट्याए। ‘केही समय अघि हामी एकअर्का विरुद्ध हस्ताक्षर संकलन गर्ने अवस्थामा पुग्यौं,’ उनले भने, ‘त्यो अवस्थामा हामी कसरी पुग्यौं। त्यसको समिक्षा हुन आवश्यक छ। उनले अहिले देखिएका चुनौती बहस गरेर फेस गर्नुपर्ने बताए। यदी अहिलेका चुनौती उचित ढंगले फेस गर्न नसके सरकार र पार्टी दुवै असफल हुने उनको भनाइ थियो। उनले नेकपा भित्रै विवादित बनेको एमसीसीका बारेमा भने आफ्नो धारणा राखेनन्।