रुकुम घटनामा २३ जना पुर्पक्षका लागि थुनामा ,किशोरीकी आमालाई धरौटीमा छाड्न आदेश

१० असार २०७७, बुधबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं १० असार । रुकुम पश्चिमको चौरजहारीमा भएको सामूहिक हत्या काण्डमा संलग्न रहेको अभियोग लागेका २३ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ । तीन जनालाई साधारण तारेख र एक जनालाई धरौटीमा छाड्न आदेश भएको छ । जिल्ला अदालत, रुकुमका न्यायाधीश विद्याराज पौडेलको इजलासले २३ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको सरकारी वकिल कार्यालयका प्रमुख विनोद पौडेलले  बताए । तीन जना प्रतिवादी तुलबहादुर मल्ल, दीपेन्द्र चन्द र इन्द्रबहादुर मल्ललाई भने साधारण तारेखमा छाड्न आदेश भएको छ । प्रेमिका भनिएकी युवतीकी आमालाई एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश भएको छ ।

पीडितको तर्फबाट २५ जना वकिलले अदालतमा बहस गरेका थिए भने प्रतिवादीका तर्फबाट ७ जनाले बहस गरेका थिए । प्रेमिका भनिएकी युवतीसहित दुई जनालाई बाल सुधार गृहमा राख्न यसअघि नै अदालतले आदेश दिइसकेको छ । घटनामा संलग्न तुलाराम घर्ती, डिल्ली घर्ती, लोकेन्द्र घर्ती, सौरभ पुन र भीमबहादुर बुढा भने अझै फरार छन् । जिल्ला सरकारी वकिलको कार्यालयले ३२ जेठमा वडाध्यक्ष डम्बरबहादुर मल्ल, युवती, उनका आमा, बुबा, दाजुसहित ३४ जनालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दर्ता गरेको थियो । सबैलाई ६ जनाको हत्या गरेको आरोपमा कर्तव्य ज्यान, १३ जनालाई घाइते भएको कसूरमा ज्यान मार्ने उद्योग र जातीय छुवाछुत सम्बन्धी कसूर अनुसार आजीवन कैद गर्न माग गरिएको थियो ।

जेठ १० गते रुकुम पश्चिम चौरजाहारी वडा नम्बर–८ की मल्ल थरकी युवतीसँग प्रेम विवाह गर्न जारजरकोट भेरी नगरपालिका वडा नम्बर ४ का २१ वर्षीय नवराज विक १९ जनाको समूह लिएर चौरजाहारी पुगेका थिए । त्यसबेला केटी लाने पक्ष र केटी पक्षबीच झडप भएको थियो ।त्यसक्रममा नवराज विक, गणेश विक, सन्दिप बुढा, लोकेन्द्र सुनार, टिकाराम सुनार र गोविन्द शाहीको शव फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय, रुकुमले गरेको अनुसन्धानमा भाग्दै गरेको नवराजको समूहलाई योजनाबद्ध रुपमा बाटोमा छेकेर हत्या गरेको खुलेको थियो ।@onlinekhabar

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • शैक्षिक क्षेत्रमा पारेको विकराल समस्याका सवालमा सरकार संचालकहरु चिन्तित नभएको…
  • भैरहवामा मनाइयो चीनको ७१ औं राष्ट्रिय दिवस
  • नेविसंघ द्धारा तिलोत्तमा नगरपालीकाको शिक्षा शाखा शिल
  • सांसद मल्ल द्धारा विर्घाका पहीरो पिडीतलाई आर्थिक सहयोग
  • रूपन्देहीको सियारीमा मेलमिलाप सम्बन्धी प्रशिक्षण
  • अब आफ्नै ठाँउमा केही गर्नुहोस् हामी साथ दिन्छौं नगर प्रबक्ता…
  • टिम नेपो नवलपरासीद्धारा बृक्षारोपण सम्पन्न
  • नयाँ नक्सासहितको पाठ्यपुस्तकको बिक्री खुला गर्न सरकारसँग नेविसंघको माग
  • जि पि के फाउण्डेशन अमेरिकाले निशुल्क दुग्धजन्य पदार्थहरू र फ्रोजन…
  • बुटवलको कोरोना अस्पतालमा एक संक्रमित पुरुषको मृत्यु