नेकपा लुम्बिनी ब्युरोद्वारा एमसीसीबारे अन्तरक्रिया

प्रकाशित मिति:

असार १०, बुटवल । विद्रोही नेपाल कम्युनिस्ट पार्टी लुम्बिनी ब्युरोले एमसीसी सम्झौताबारे जनतासँग छलफल चलाएको छ । पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)मार्फत् एमसीसीबारे बहस तथा छलफल चलाएको हो ।  कपिलवस्तुको बाणगंगा स्थित जनज्योति मावि, नवलपुरको लक्ष्मी मावि, जनज्योति मावि, बालकुमारी क्याम्पस, नवलपरासीको भुताहा, रुपन्देहीको सैनामैना, अर्घाखाँचीको शितगंगा नगरपालिका, सन्धिखर्क नगरपालिकामा नेकपाले एमसीसीबारे छलफल चलाएको छ ।  छलफलमा प्राध्यापक, शिक्षक, कर्मचारी, अधिकारकर्मी, बुद्धिजीवी, विभिन्न पार्टीका प्रतिनिधि तथा शुभचिन्तक, संघसंस्थाका प्रतिनिधि, स्थानीय जनता सहभागी भएका थिए । छलफलमा एमसीसीको औचित्य, सम्झौताका राष्ट्रघाती बुँदा, साम्राज्यवादी नीति, देशको स्वाधीनता, सार्वभौमिकता र स्वतन्त्रताबारे थुप्रै जिज्ञासाहरु उठेका थिए ।

छलफलमा एमसीसी परियोजना हिन्द प्रशान्त रणनीतिसित सम्बन्धित रहेकोले नेपालमा अमेरिकी सेना ल्याएर चीनको विरुद्ध प्रयोग गर्न थालिएको, अमेरिकाले जासुसी सेटेलाइट र मिसाइल चार्ज गर्न हाइ भोल्टेज आवश्यक भएकोले विद्युत परियोजना अगाडी सारिएको, पाल्पाको दोभानस्थित बसन्तपुर डाँडामा अमेरिकी जासुसी यन्त्र सहित सेना राख्न लागिएको र मुस्ताङको युरेनियम खानी कब्जा गर्न उद्देश्यले एमसीसी सम्झौता संसदबाट पारित गर्न लागिएको भन्दै यो सम्झौताले देशको स्वाधीनता, सार्वभौमिकता र स्वतन्त्रताका विरुद्ध हुने नेकपाले बताएको छ । नेकपा लुम्बिनी ब्युरोले सिंगो देश एमसीसीको विपक्षमा रहेको बेला वली सरकारले कांग्रेसको समर्थनमा संसदबाट पास गराउन खोज्नु राष्ट्रघाती र पञ्चशीलको सिद्धान्त विपरित भएको बताएको थियो ।

छलफल कार्यक्रममा एमसीसीको अर्को भित्री उद्देश्य दक्षिण एसियामा कम्युनिस्ट प्रभाव रोक्ने, नेपाली क्रान्तिलाई दमन गर्ने नीति रहेले यसका विरुद्ध देशको स्वाधीनता र सार्वभौमिकताको पक्षमा देशभक्त नेपालीहरु संघर्षमा उत्रिनु अनिवार्य रहेको समेत नेकपा लुम्बिनी व्युरोले बताएको छ । कपिलवस्तुमा अखिल नेपाल शिक्षक संगठनले पनि एमसीसीको विरुद्धमा छलफल चलाएको छ । छलफलमा संगठनका कपिलवस्तु अध्यक्ष रामनिवास चौहानले एमसीसी सम्झौता लागु भए गम्भीर राष्ट्रघात हुने बताए । कार्यक्रममा रामअचाल कोरी लगायतले समेत बोलेका थिए । नेकपा लुम्बिनी ब्युरोले एमसीसी विरुद्ध विभिन्न संघर्ष गर्दै आएको छ । यसभन्दा अगाडी प्रधानमन्त्रीलाई बेसार, लसुन, अदुवा, तातोपानी उपहार, पोस्टरिङ, साहित्यिक कार्यक्रम, रित्तो थाली बजाउने कार्यक्रम सम्पन्न गरिसकेको नेकपा लुम्बिनी व्युरोले बताएको छ ।

थप समाचार