सामाजिक सञ्जालको प्रयोग गरी लोट्री परेको भन्दै करोडौं ठगी गर्ने ७ जना पक्राउ

प्रकाशित मिति:

सामाजिक सञ्जालको प्रयोग गरी लोट्री परेको छ भन्दै करोडौं रकम ठगी भएको खुल्न आएको छ । महानगरीय अपराध महाशाखाले ठगी गर्ने केही व्यक्तिलाई पक्राउ गरेपछि यो रहस्य खुलेको हो । ठूलो रकम कमाउने लोट्रीको लोभमा सरकारी कर्मचारीसमेत फसेको फेला परेको छ ।यो घटनामा संलग्न गिरोहलाई महानगरीय अपराध महाशाखाको विशेष अनुसन्धान टोलीले उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा झापा, भद्रपुर नगरपालिका घर भई काठमाडौं बस्दै आएका पुकार बर्मा, काभ्रे सिम्थलीका नविन भण्डारी, रौतहटका आकास अग्रवाल, भारत विहारका एमडी सर्फराज, रौतहटका एस अग्रवाल, पर्साका कृष्णप्रसाद साह र सुनिल साह रहेका छन् । उनीहरूलाई आवश्यक अनुसन्धानका लागि आज महानगरीय प्रहरी परिसर पठाइएको महाशाखाले जनाएको छ ।यसरी ठगीमा नेपाल र भारतको गिरोह नै सक्रिय भएको महाशाखाको अनुसन्धानमा खुलेको प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए । गिरोहले भाइबर, ह्वाट्स एप, इमेललगायत सामाजिक सञ्जालको प्रयोग गरी उनीहरूलाई ठगी गरेका थिए ।अहिलेसम्म उनीहरूबाट १ करोडभन्दा बढी रकम ठगेको अनुसन्धानमा खुलेको कार्कीले जानकारी दिए । उनीहरूले विभिन्न व्यक्तिको खाताबाट ठूलो रकम निकालेकोसमेत फेला परेको छ । कतिपय पीडितले पैसा पाउने आशमा आफ्नो घर जग्गासमेत धितो राखी घरबारविहीन भएको पाइएको छ । रासस