कोरोना संक्रमणबाट स्याङ्जामा २ को मृत्यु

प्रकाशित मिति:

श्रीकृष्ण सिग्देल स्याङ्जा—११ असार – कोरोना संक्रमणबाट अहिले सम्म स्याङ्जामा दुई जनाको मृत्यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । गण्डकी प्रदेशमा थप एक जना कोरोना संक्रमित व्यक्तिको मृत्यु भएपछि मृत्यु हुनेको संख्या दुई पुगेको हो । पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचाररत स्याङजाको आँधीखोला गाँउपालिका सिरुवारीका पुरुषको निधन भएको छ । असार ८ गते अस्पताल भर्ना भएका ५५ बर्षका ती पुरुषको गएराती निधन भएको प्रतिष्ठानले जनाएको छ ।

मृतकमा कोभिड १९ संक्रमण सँगै सिभियर न्युमोनिया,मधुमेह रोगको समेत समस्या रहेको प्रतिष्ठानले निकालेको बिज्ञप्तीमा उल्लेख छ । गण्डकीमा ज्यान गुमाउने संक्रमित दुवै जना स्याङजाका हुन् । यसअघि वालिङ ३ का ५८ बर्षका संक्रमितको पोखरामा नै मृत्यु भएको थियो । कोरोना संक्रमणबाट मृत्यु हुन थालेपछि स्याङ्जामा त्रास फैलिन थालेको छ । सबै नागरिकहरु घरमै बस्न र भिडभाडमा नजान स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले आग्रह गरेका छन् ।