रोहिणीले उपाध्यक्ष सुत्केरी प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने , रोहिणीको बजेट त्रिसठ्ठी करोड बढी

प्रकाशित मिति:

भैरहवा । रोहिणी गाउँपालिकाले गाउँपालिकामा रहेका आमा र शिशुको स्वास्थ्यलाई ध्यानमा राखी उपाध्यक्ष सुत्केरी प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने भएको छ । गाउँपालिकाको मंगलबार सम्पन्न भएको सातौं गाउसभामा पेश भएको आर्थिक बर्ष २०७७÷०७८ को निति तथा कार्यक्रममा उपाध्यक्ष सुत्केरी प्रोत्साहन कार्यक्रम समेटिएको छ । मंगलबार सार्वजनिक भएको निति तथा कार्यक्रममा प्रजनन स्वास्थ्यमा पहुँच अभिवृद्धि गर्न प्रसुति गृह निर्माण र सञ्चालनलाई ब्यवस्थित र प्रभावकारी बनाईने भनिएको छ । गाउँपालिकाको ग्रामीण क्षेत्रमा सुरक्षित सुत्केरी बारे सचेत भए पनि नियमित चेकजाँचमा अझै सचेतना आवश्क रहेको गाउँपालिका अध्यक्ष सनोज कुमार यादवले बताए । यसको लागी उपाध्यक्ष सुत्केरी प्रोत्साहन कार्यक्रम ल्याईएको उनले बताए । कार्यक्रम अन्र्तगत बर्थिङ्ग सेन्टर तथा अस्पतालमा प्रसुती गराएका रोहिणी गाउँपालिका भित्र स्थायी बसोबास भएका सुत्केरी महिलालाई “उपाध्यक्ष सुत्केरी प्रोत्साहन कार्यक्रम” अन्र्तगत पोषण सामाग्री उपलब्ध गराउने नीति लिईएको उनले बताए ।

मंगलबार सार्वजनिक भएको निति तथा कार्यक्रममा गाउँपालिकाको दिर्घकालीन विकासको अवधारणा अनुसार निति लिईएको छ । यसको लागी स्वास्थ्य, कृषि, शिक्षा, सामाजिक विकास, भौतिक पूर्वाधार लगाएतका बिषयलाई प्राथमिकतामा राखी सोही अनुसारको योजना बनाईएको गाउँपालिका अध्यक्ष यादवले जानकारी दिए ।  बजेट कार्यान्वयनमा देखा परेको वर्तमान चुनौतिलाई हेर्दै यस बर्ष साउन देखी नै योजना तथा कार्यक्रमहरु सुरु गरिने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रोमनाथ न्यौपानेले बताए । “हाम्रो रोहिणी राम्रो रोहिणी” भन्ने मान्यताका साथ कृषि, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, संस्कृति र सभ्यतालाई रोहिणी गाउँपालिकाले अघि सारेको उनले बताए । सुखी जनता र समृद्ध रोहिणीको प्रतिवद्धता भन्ने दीर्घकालिन सोच र विकासका सबै चरणहरुमा जनताको अर्थपुर्ण सहभागिता सहित सन्तुलित र चौतर्फी विकास नै गाउँपालिकाको प्राथमिकता रहेको उनले बताए ।

यस बर्ष कोभिड–१९ को कारण गाउँपालिकाको बिकास निर्माण देखी अन्य सबै कार्यहरु प्रभावित भएको र बेरोजगारी समेत बढाएको अवश्थामा पालिका स्तरमै रहेका बिभिन्न औद्योगिक प्रतिष्ठानको सहकार्यमा रोजगारीको ब्यवस्था गरिदै छ । यस अतिरिक्त गाउँपालिकामै कृषिलाई प्राथमिकतामा राखी स्वरोजगारको अवसर पनि उपलब्ध गराईने निति ल्याईएको छ । दीर्घकालीन कृषि योजनाले अवलम्वन गरेका नीतिहरुका आधारमा खाद्यान्न बाली, नगदे बाली, तेलहन बाली, दलहन बाली तथा च्याउ खेती, व्यवसायिक तरकारी खेती, माछापालन, कुखुरापालन तथा पशुपालनको लागि नश्ल सुधार तथा धान र गहु बालीको पकेट क्षेत्रको रुपमा विकास गरिने गाउँपालिकाले जनाएको छ । यसको लागी संघीय र प्रदेश सरकारको समेत सहयोगमा कृषिलाई उकास्ने काम गरिने उल्लेख छ ।

रोहिणीको बजेट त्रिसठ्ठी करोड बढी – रोहिणी गाउँपालिकाले आर्थिक बर्ष २०७७÷०७८ को लागी ६३ करोड २० लाख ५२ हजार ९ सय चौध रुपैयाँको अनुमानित बजेट पेश गरेको छ । कार्यपालिका सदस्य तथा वडा नम्बर ६ का वडा अध्यक्ष ईन्द्रमान चौधरीले बजेट पेश गर्दै .२०७७⁄०७८ को बजेटको स्रोत आन्तरिक आय एवम मालपोत बाडफाँडबाट ६० लाख, संघीय सरकारबाट प्राप्त हुने ३९ करोड ४३ लाख १३ हजार ९ सय १४ रुपैया, प्रदेशसरकारबाट प्राप्त ३ करोड २७ लाख ३९ हजार र सामाजिक सुरक्षा भत्ता वापत ८ करोड ८० लाख रहेको जानकारी दिए । यस्तै सडक बोर्डबाट १० लाख र गाउँपालिकाको बैंक मौजदात ८ करोड गरि ६३ लाख बढी आय हुने अनुमान गरिएको छ ।
यस्तै खर्च तर्फ आर्थिक विकास तर्फ ३ करोड ३२ लाख ४ हजार ३ सय ८२, सामाजिक विकास तर्फ ४ करोड १५ लाख ५हजार ४ सय ७८, पूर्वाधार विकासमा ६ करोड ६४ लाख ८ हजार ४ सय ६५ रुपैया खर्च हुने अनुमान गरिएो छ । सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रमा २ करोड, ४९ लाख, ३ हजार, २ सय ८७ रुपैया र कार्यालय सञ्चालन तथा प्रसासनिक क्षेत्र गाउँपालिका र वडा समेत गरि ८ करोड ८३ लाख १० हजार रुपैया बिनियोजन गरिएको छ ।