‘साउनमा संक्रमित ३९ हजार नाघ्छन्, जोखिम बढेका ठाउँमा कडा लकडाउन हुन्छ’

१२ असार २०७७, शुक्रबार ०   बिचार / प्रतिक्रिया
27 Shares


१२ असार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल अनलाइनखबरसँग कुराकानी सुरु गर्नुअघि स्वास्थ्य तथा मन्त्रालयमा विज्ञहरुसँगको छलफलमा थिए । कडाइका साथ नियन्त्रण गर्दा पनि आगामी साउन अन्तिमसम्म संक्रमितको संख्या ३९ हजार नाघ्ने मन्त्री ढकालले विज्ञहरुको आकलन सुनाए ।

शुरुमा बढीमा ५ हजार संक्रमित होलान् भन्ने अनुमान गरेर थालिएको तयारी अब पर्याप्त नभएको उनले स्वीकार गरे । अब कम्तिमा ४० हजार संक्रमित पुग्छन् भन्ने आकलनका साथ व्यवस्थापनमा लागिएको उनले बताए ।
सीसीएमसीका सदस्यसमेत रहेका मन्त्री ढकालले खुकुलो पारिएको लकडाउनको २१ दिनको अनुभव समीक्षापछि मात्रै सार्वजनिक यातायात विस्तारै खुलाउने र संक्रमण देखिएका ठाउँहरुमा अझ कडा लकडाउने गर्ने बताए ।

प्रस्तुत छ, स्वास्थ्यमन्त्री ढकालसँग कोरोना महामारी नियन्त्रणमा सरकारले गरिरहेको प्रयासबारे  गरेको कुराकानीको सम्पादित अंश

सरकारले लकडाउन खुकुलो बनाएर कार्यालयचाहिँ खोल्ने, तर त्यहाँ जाने सेवाग्राहीका लागि सार्वजनिक यातायात नखोल्ने कुराले अप्ठेरो पर्‍यो भनिँदैछ, सार्वजनिक यातायात खोल्नेबारे सरकारको योजना के छ रु

यसमा दुईटा कुरा छ । हामीले पहिले लामो समय कडा लकडाउन गर्‍यौं । जनताले कष्ठ सहेर पनि पालना गर्नुभयो । पछिल्लो दिनमा दैनिक जीवनमा असर पारेको भनेपछि अलि सहजीकरण गरेका हौं । भ्यालीभित्र आउन नपाउने, संक्रमण भएका जिल्लाबाट अर्कोमा जाने कुरालाई रोक्ने पनि भन्यौं । दैनिक जीवनचाहिँ सहजीकरण गरौं भनेर गरिएको हो । तर, मान्छेहरुमा कस्तोखालको मनोविज्ञान भयो भने हिजो लकडाउनमा निसास्सिएको जस्तो भयो । तर, आज मान्छेको हाउभाउ र गतिविधि हेर्ने हो भने भने अब पनि नेपालमा कोरोना छ र रु लकडाउनको कुनै प्रत्याभूति छ र रु भन्नेखालको देखिन्छ ।

त्यसले गर्दा हामीले अहिले पछिल्लो दिनमा अब उपत्यकामा बाहिरबाट आउने व्यक्ति कुन वडामा आउने हो, त्यहाँ आएर १४ दिन क्वारेन्टाइनमा बस्नेखालको कुराको सुनिश्चितता गरिरहेका छौं ।

संक्रमित भएको जिल्लालाई सिलबन्दी गर्ने । त्यहाँ पूरै ठीक नहुन्जेल अरु गतिविधि रोक्ने कुरा छ । एक लाख ७० हजारभन्दा बढी मान्छे अघिल्लो हप्तासम्म क्वारेन्टिइनमा बसेका थिए । अहिले त्यो संख्या ८० हजारभन्दा तल झरेको छ । आधा मान्छेको यो बीचमा परीक्षण भएको छ ।

लकडाउनको मोडालिटीमा कतिपय अवस्थामा कडा पनि गर्ने र केही सामाजिक दूरी कामय गर्ने, स्वास्थ्यमा ध्यान दिने, हाम्रा जीवनशैलीमा कोरोनाबाट जोगिने सावधानी अपनाउने कुराचाहिँ जनतामै बढी केन्द्रित छ । कुरा गर्ने, तर व्यवहारमा नहुने कुराले हामी नै जोखिममा पर्छौं भन्ने बुझ्नुपर्छ ।

त्यसोभए अहिले नै सार्वजनिक यातायात सञ्चालन हुँदैनन् ?

अब बस्ने मन्त्रिपरिषद बैठकमा समीक्षा हुन्छ । हामीले २१ दिनको अवधि तोकेर समीक्षा गर्ने भनेका छौं । अहिलेको खुकुलोपनको बारेमा हामी हेरिरहेका छौं । संक्रमित बढेका ठाउँमा हिजोको भन्दा कडा लकडाउन हुन्छ ।

प्रभाव कम भएका र बाहिरबाट आएकाहरुको पनि परीक्षण भइसकेका तथा क्वारेन्टाइनमै सीमित भएर समाजमा त्यो संक्रमण जाँदैन भन्ने सुनिश्चितता भएको ठाउँहरुको जनजीवन अझ सरल गर्दै अघि बढ्छौं । त्यसमा सार्वजनिक यातायात पनि पर्न सक्छ ।

कोभिड(१९ विरुद्धको नेपालको लडाइ अब कुन चरणमा पुगेको हो र?

दश हजारभन्दा बढी व्यक्तिहरु संक्रमित भइसक्नुभएको छ । २५ जनाको निधन भइसकेको छ । हामीले मंगलवारसम्मै झण्डै एक लाख ८५ हजारजति पिसीआर परीक्षण नै गरिसकेका छौं । यो संख्या विहीबारसम्म बढिसकेको छ । परीक्षणको दायरालाई पनि हामीले बढाइराखेका छौं ।

केही स्याम्पलहरु आएर ल्याबमा अलिकति रहेका छन् भन्ने गुनासो पनि छ । पछिल्लो दिनहरुमा भारतीय सिमानाबाट नेपाली दाजुभाइ दिदीबहिनीहरु ठूलो संख्यामा आउनुभयो । करीव २ लाख भन्दा बढी व्यक्तिहरु आउनुभयो र हामीले व्यवस्थापन गरेका क्वारेन्टिन र अन्य आवश्यकीय व्यवस्थाहरुले पनि तत्कालका लागि धान्ने कुरा भएन ।

निश्चित संख्याका लागि हामीले तयारी गरेका थियौं । त्यो भन्दा धेरै संख्यामा हाम्रा नागरिक आउनुभयो । संक्रमणको दायरा झन् झन् बढ्दैछ । भारतमा उच्च जोखिमका साथ बढ्दैछ र त्यसको प्रभाव पनि हामीकहाँ परिराखेको छ । यस हिसाबले हामीले अहिले कुन चरणमा छौं भन्नै परेन, यो बढ्ने क्रममा छ ।

यसको मतलब, अझ धेरै संक्रमण फैलिने चरण बाँकी नै छ ?

हामीले विभिन्न विज्ञहरुको परामर्शपछि हामी केही निष्कर्षमा पुगेका छौं । उहाँहरुका अनुसार ठिकै ढंगले नियन्त्रण गर्न सकियो भने यो ३९ हजारसम्म संक्रमित हुन सक्छ । साउनको अन्तिम सातातिर चाहिँ यो क्लाइमेक्समा पुग्न सक्छ भन्ने प्रक्षेपण छ ।

विश्वस्वास्थ्य संगठनले दिएको मापदण्डलाई हामीले फलो गर्दाखेरि त्यो चरणमा पुगेका छौं । हिजो हामीले करीव १५ हजार जतिमात्रै संक्रमित होलान् कि भनेर जुनखालको बुझाइमा थियो, छिमेकी मित्रराष्ट्रबाट आउने नेपाली दाजुभाइ दिदीबहिनीहरुको चाहना र अन्य देशहरुबाट पनि पीडामा रहेका, अप्ठेरोमा परेका नेपाली दाजुभाइ दिदी बहिनीहरुलाई स्वदेश ल्याउनुपर्ने कारणले गर्दा यो संक्रमण बढ्ने निश्चित भयो ।

त्यहाँबाट आउनेहरुमै अहिलेसम्म ठूलो मात्रामा पोजेटिभ देखिएको छ । भन्न सकिन्छ कि ९४ प्रतिशतभन्दा माथि संक्रमित व्यक्तिहरु चाहिँ अहिलेसम्म बाहिरबाट आएकाहरुनै हुनुहुन्छ । र, यो संख्या बढ्ने निसन्देह ठूलो छ ।

संख्या बढ्ने भएपछि रणनीति पनि त फरक बनाउनुपर्दैन ?

हामीले हिजोको भन्दा फरक रणनीति बनाएका छौं । हिजो पनि सरकार लागेर परीक्षण गरेर संक्रमितहरु फेला पारेर उनीहरुलाई हामीले अस्पतालमा लगेर उपचार गर्‍यौं । लक्षण देखिएका हुन् नदेखिएका हुन् ।

अब लक्षण नदेखिएका व्यक्तिहरु अस्पतालमा लगेर राखिरहँदा, अस्पतालमा सीमित बेडहरु हुने भए । त्यसैले लक्षण नदेखिएका तर रिपोर्ट पोजेटिभ आएका व्यक्तिहरुलाई अस्पतालको बेडमा राखियो भने साँच्चै अस्पतालको सेवा लिनुपर्ने व्यक्तिहरु चाहिँ त्यो सेवाबाट बन्चित हुने भए । त्यसैले आइसोलेसन सेन्टरलाई उन्नत बनाउने, डाक्टर नर्सहरुको टिम राख्ने, सुरक्षाको राम्रो प्रबन्ध गर्ने, खाने बस्ने सुविधाका कुराहरुलाई पनि अस्पतालसरहकै जस्तो गराउने र त्यस्तो ठाउँमा चाहिँ पोजेटिभ केस तर सक्रिय छैनन् भने त्यस्ता व्यक्तिलाई त्यहाँ राखियो भने अक्सिजन, भेन्टिलेटर जस्ता सेवा सुविधा दिनुपर्ने व्यक्तिलाई अस्पतालबाट दिन सक्छौं ।

हामीले प्रत्येक प्रदेशमा चाहिँ करिब ३ हजार जति व्यक्ति राख्न सकिने गरी योखालका सुविधा भएका आइसोलेसन सेन्टरहरु व्यवस्थापन गरेका छौं । दोस्रो हामीले बाहिरबाट आएका, क्वारेन्टाइनमा ठूलो संख्यामा रहेका व्यक्तिहरु जसलाई स्थानीय तहले अहिलेसम्म अहोरात्र खटेर व्यवस्थापन गरिराखेको छ, त्यस्ता ठाउँमा खर्च पठाउने र क्वारेन्टाइनको स्तरोन्नतिका लागि आवश्यक प्रक्रिया थालिएको छ ।

महिला, सुत्केरी र बालवालिकाहरुका निम्ति पोषणयुक्त खाना भएन भनेर हामीले पहिले तोकेको भन्दा दोब्बर व्यवस्थापन गर्नुपर्छ भनेका छौं । क्वारेन्टाइनमा महिलाहरुको सुरक्षाको विषय उठिसकेकाले यसमा पनि आवश्यक गृहकार्यमा छौं । अब हामीले व्यक्तिहरुलाई उपचार गर्दा एकजना व्यक्तिका लागि कति खर्च गर्ने भन्ने पनि रणनीति बनाएका छौं ।

आइसोलेसनमा राख्दा एउटा व्यक्तिलाई कति खर्च गर्ने, अस्पतालमा कति गर्ने रु क्रिटिकल केयर गर्नुपर्‍यो भने कति गर्ने रु त्यसो गर्दा एउटा एकरुपता एउटा मापदण्डमा आउन सक्छ भन्ने पनि छ ।

संक्रमणलाई समुदायमा फैलिन नदिने सरकारको रणनीति के छ ?

जिल्लागत आधारमा हेर्ने हो भने ठूलो संख्यामा पोजेटिभ देखिएका ठाउँहरुमा सिलबन्दी गर्ने, हिजो हामीले जुन लकडाउन गरेका छौं त्यसमा समीक्षा भएको छ । लकडाउन त अहिले पनि निरन्तर नै छ । मान्छेको जीवनलाई अलि सहजीकरण गरौं, सामाजिक दूरी कायम गरौं, स्वास्थ्यमा विशेष ध्यान दिउँ र स्वास्थ्य मन्त्रालयले निकालेको प्रोटोकललाई फलो गरेर दैनिक जीवन अलि सहज बनाउँ भन्दा मान्छेहरुको अनुभूति अब लकडाउनै छैन कि जस्तो भइरहेको छ ।

धेरै संक्रमित भएका जिल्लाहरुमा संख्यामा आधारमा पनि त्यसलाई सिलबन्दी गरेर अन्त्य संक्रमित नहोस् भन्नेमा बढी नै ध्यान केन्द्रित गरेर हामी लागेका छौं ।

त्यसोभए अब हामी क्लाइमेक्सको चरणमा पुग्छौं भनेर बुझौं ?

मैले भन्न खोजेको के भने हामी साउन अन्तिमसम्म ३९ हजारसम्म संक्रमित हुने र त्यो चरण क्लाइमेक्स हुन्छ भन्ने विज्ञहरुको अनुमानका आधारमा रणनीति बनाउँदैछौं । राज्यले बनाउने नीति र एक्सन प्लानमा एकरुपता होस् भनेर हामीले सीसीएमसी बनाएका छौं । नीतिगत नेतृत्वचाहिँ सीसीएमसीको निर्देशक समिति हाम्रो उपप्रधानमन्त्रीको नेतृत्वमा छँदैछ । नीतिगत निर्णय र ठोस निर्णय त हामी क्याबिनेटबाटै गर्छौं । यो ढंगले आएका छौं । दश हजार भन्दा माथि संक्रमित पुगेपछि चाहिँ हिजोको भन्दा नयाँ ढंगले

अब कसरी यसलाई व्यवस्थापनमा जाने भनेर छलफलमा पनि छौं ।
अब केसहरु धेरै भएका जिल्लाहरुलाई लकडाउनभित्रको कडा अनुशासनमा राख्ने, नभएका ठाउँको जनजीवनलाई कसरी चलाउने, एक ठाउँबाट अर्को ठाउँमा जान कसरी व्यवस्थापन गर्ने, यसमा हामी गम्भीर छौं ।

१५ हजारको टार्गेटमा हामीले काम गरिराखेका थियौं भने आज हामीले अधिकतम सावधानीका साथ नियन्त्रण गर्दा पनि यो ३९ हजारभन्दा माथि पुग्न सक्छ भनेपछि औषधीको हिसाबले औजारको हिसाबले भोलि स्वास्थ्य सामाग्रीका हिसाबले यति व्यक्तिहरु संक्रमित हुँदा चाहिने न्यूनतम कुराहरु के हुन्, त्यसको अभाव नहोस् भनेर ती सामाग्रीहरु भण्डारण गर्नेसम्मका काममा हामी न्केद्रित छौं ।

स्वास्थ्य संकटकाल लगाउने तपाईको प्रयास त सफल भएन नि होइन ?

सुरुमा हाम्रो जुनखालको बुझाइ थियो, त्योबेला हामीले २ हजार नाघेर ५ हजार संक्रमित हुनेखालको स्थिति रहृयो भने त्यतिबेला दुईटा अप्ठेरो हाम्रा लागि आउन सक्छ भन्ने थियो ।

एउटा अहिले सामान्य लक्षण देखिएको थियो, तर सक्रिय केस नभएका व्यक्तिलाई अस्पतालमा राखियो भने साँच्चै बिरामी आउँदा अस्पतालको सेवाबाट तिनीहरु बन्चित हुनसक्छन् । दोस्रो कुराचाहिँ २ हजारभन्दा माथि गयो भने स्वास्थ्य इमरजेन्सीको बारेमा सोच्नुपर्छ भन्ने थियो ।

किनभने, महामारी दिनानुदिन बढ्दै जानेखालको अवस्था भयो भने, त्यतिबेला व्यवस्थापन गर्नका लागि ढिलो हुन्छ कि भनेर दुई तीन महिनाअगाडि नै परिकल्पना गरेका हौं । त्यो भनेको सामान्य छलफल गरेका थियौं । तर, अहिले पछिल्लो दिनमा चाहिँ हाम्रो परिकल्पनाभन्दा पनि सीमापारबाट आउने व्यक्तिहरुका कारण दिनैपिच्छे संक्रमण धेरै देखिएपछि, अब स्वास्थ्य संकटकालको बारेमा कुन ढंगले छलफल गरौं भनेर बैठक बस्यौं । अहिले हामी हप्तामा दुई दिन बस्छौं, त्यतिबेला अझ बढी बस्यौं । संक्रमण पाँच हजार नाघ्ने अवस्थापछि हामीले बैठक बसेर समाधानको उपाय खोज्दा स्वास्थ्य संकटकालका बारेमा पनि बौद्धिक क्षेत्रसँग परामर्श गरेर जानुपर्छ भन्ने छलफल भएको हो ।

स्वास्थ्य संकटकालको बारेमा छलफल भएको हो । तर, बाहिर मिडियामा चाहिँ एक स्टेप अगाडि गएर मन्त्रालयले संकटकालकै प्रस्ताव बनाएर मन्त्रिपरिषदमै लगिसक्यो भनेर आयो । हामीले आजको मितिसम्म त्यस्तो प्रस्ताव मन्त्रिपरिषदमा लगेका छैनौं ।

पीसीआर टेस्टको दायरा बढाऊ भन्दै आन्दोलन चलिरहेको छ नि ?

पीसीआर टेस्टको कुरालाई हामीले प्रतिदिन दश हजारभन्दा माथि पुर्‍याउने गरी काम गर्दैछौं । जसले गर्दा क्वारेन्टाइनमा मान्छेहरुलाई लामो समय बस्नु नपरोस् भनेर हामीले तीब्ररुपमा यसलाई बढाइरहेका छौं । एकदिनमै ७ हजारभन्दा बढीको परीक्षण भएको पनि छ ।

पीसीआर टेस्टकै कुरा गर्ने हो भने पनि भारत, श्रीलंका, पाकिस्तान, बंगलादेश, जापानभन्दा माथि हामी धेरै माथि छौं । तर, गरेको कुरालाई उडाउने र मरेपछि पीसीआर रु भनेर प्रश्न गरिरहेका पनि देखियो । मरेपछि पनि पीसीआर गर्नुपर्छ । किनभने, यदि कोही मान्छे कोरोना लागेर मरेको रहेछ भने, त्यसको दाहसंसारको विधि फरक हुन्छ । बोकेर लैजाने मान्छे संक्रमित नहोस् भन्ने हुन्छ । मलामी पनि को(को गए भन्ने खोज्नुपर्छ । पहिले नै परीक्षण गरियो भने अरु मान्छेलाई त जोगाउन सकिन्छ नि । मरेका व्यक्तिमा कोरोना देखिएपछि विश्व स्वास्थ्य संगठनले अरु जुन रोग भए पनि कोरोना पोजेटिभ देखियो भने त्यही कारणले मरेको भन्छ । हामीले पनि विश्व मान्यतालाई स्वीकार गरेका छौं ।

कतिपय जनस्वास्थ्य विज्ञहरुले भनिरहेका छन् कि हाम्रो पूर्वतयारी नभएका कारण हृवात्तै संख्या बढ्यो र स्वास्थ्य मन्त्रालयको नेतृत्वमा त्यो क्षमता पनि देखिएन, कहीँ न कहीँ त समस्या छ नि होइन रु

कतिपय व्यक्तिहरुलाई के लाग्यो भने, शुरुमा चीनमा आएको पहिलो व्यक्तिमा हामीले केस प्रमाणित गर्‍यौं । धेरै ठाउँमा छलफल हुँदा नेपालमा कोरोनाचाहिँ किन नआएको होला भनेर मान्छेहरु जिज्ञासा राख्थे ।

कोरोना देखिन थाल्यो, हामी लकडाउनमा गयौं । किन अन्त जति छिटोछिटो फैलिएन नि भनेर तिनै व्यक्तिहरु चिन्ता गर्न थाले । संक्रमण फैलिने क्रम पनि एक(दुईबाट आज हामी १० हजारमा पुग्यौं । नेपालीहरुमा किन यो कोरोनाले मान्छे मार्नचाहिँ सकेन, अन्त यति हुँदा त धेरै मान्छे मर्थे नि भनेर तिनै मान्छेले जिज्ञासा राखिरहे ।

अब मान्छे पनि मर्न थाले, २५ जना पुगिसके । यो जम्मै कुरा चाहिँ सरकारको असफलता हो भने यही हिजो नभएका कारणले भन्न पाइएको थिएन जस्तो गरेर अहिले भनेर सन्तुष्टि लिने मान्छेहरु पनि छन् । त्यो त आफ्ना आफ्नो बुद्धि विवेकको कुरा हो ।

जहाँसम्म पूर्वतयारीको कुरा छ, हामी तयारीमै थियौं । पहिलो केस प्रमाणित गर्नका लागि हामीले स्वाब यहाँबाट हङकङ पठाएर यो कोरोना हो भनेर पुष्टि भएको ठाउँमा, आज हामीले २२ ठाउँमा ल्याब परीक्षण सञ्चालन गरेका छौं ।

अहिलेसम्मको सबैभन्दा धेरै हामीले अस्ति ७ हजार ४ सयसम्मको पीसीआर रिपोर्ट नै एक दिनको दिने ठाउँमा हाम्रो क्षमतालाई बिस्तार गर्‍यौं । सातवटै प्रदेशमा ल्याब छन् । त्यसलाई अझ विस्तार गर्न लागिरहेका छौं । तयारी नभएको भए यी २२ वटा पीसीआर ल्याबचाहिँ के महामारीले आफैं बोकेर ल्याएर स्थापित गरिदिएको हो र रु तर, पनि आलोचना गर्नेलाई त हामी सम्मान नै गर्छौं ।

@onlinekhabar

फेसबुकबाट तपाईको प्रतिक्रिया