काभ्रेमा हतियारसहितको लुटेरा समूहले ९० लाख बराबरको बुद्धचित्त लुट्यो

१२ असार २०७७, शुक्रबार ०   बिचार / प्रतिक्रिया


काठमाडौँ । हतियारसहित आएको एक समूहले रोशी गाउँपालिका–५ मा ९० लाख रुपैयाँ बराबरको बुद्धचित्तको दाना लुटेको छ । अत्याधुनिक हतियारसहित आएको ३० जनाको समूहले वीरबहादुर तामाङको बारीमा रहेको रुखको बुद्धचित्त लुटेको हो ।

वीरबहादुरले स्थानीय व्यापारीलाई ९० लाख रुपैयाँमा उक्त दाना बिक्री गरेपछि सुरक्षाका लागि कुरेर बसेका ५ जनालाई लुटेरा समूहले आक्रमण गरी घाइते बनाएका छन् । प्रहरीका अनुसार लुटेराहरु बुद्धचित्तसहित भाग्न सफल भएका छन् ।

प्रहरीले एसएमजी बन्दुक २ थान, पेस्तोल २ थान, कटुवा बन्दुक १० थान, खुकुरी र सकेट बमसहित आएका उनीहरुले बाटोमा खतरा लेखेर यातायातका साधन चल्न नदिएको र वीरबहादुर र दिलबहादुर तामाङको घरको ढोका फोरी निगरानीको लागि राखिएको सीसीटीभी क्यामेरा समेत फुटाएको जनाएको छ ।

उनीहरुको आक्रमणबाट तेमाल– ६ का ३८ वर्षीय श्याम तामाङ, रोशी–६ का ३० वर्षीय जितबहादुर तामाङ, सोही वडाका २४ शेखर लामा र ४० वर्षीय जितबादुर तामाङ घाइते छन् । उनीहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । रोशी–५ का २० वर्षीय वाङडुक लामा सम्पर्कविहीन छन् । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

आज बिहान ३५ जनाको समूहमा आएको लुटेरा समूहले बुद्धचित्तको रूखको सुरक्षामा बसेकामाथि आक्रमण गरेको प्रहरीको प्रारम्भिक अनुमान छ । वाग्मती प्रदेशका प्रहरी प्रमुख वसन्त लामाले दिएको जानकारी अनुसार सोही समूहले सिपाली जाने बाटोमा पर्ने खाल्टेमा बमसमेत राखेको पाइएको छ । डीआईजी लामाका अनुसार बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ ।

@radionrn

फेसबुकबाट तपाईको प्रतिक्रिया