पचास प्रतिशत अनुदानमा मौरीसहितको एकसय घार वितरण

प्रकाशित मिति:

तोलाकान्त बगाले/वालिङ-वालिङ नगरपालिकाले ब्यवसायिकरुमा मौरीपालन ब्यवसायलाई विस्तार गर्नकालागि मौरीसहितको एकसय घार वितरण गरेको छ ।नगरपालिका अन्तर्गत कृषि शाखाले मौरीपालनका लागि आवेदन माग गरेसँगै चार वटा समूह तथा सहकारी संस्थाहरुको छनोट गरी ५० प्रतिशत अनुदानमा मौरीसहितको घार वितरण नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।

वालिङ नगरपालिकामा पहिलो चरणमा यसवर्ष मौरीसहितको एकसय उन्नत घार वितरण गरिएको र यसको प्रभावकारितालाई हेरेर आगामी वर्ष थप विस्तार गर्दै लगिने नगर प्रमुख खाँणले बताउनुभयो ।“वालिङ नगरपालिका मौरीपालन ब्यवसायका दृष्टिले उपयुक्त छ” नगर प्रमुख खाँणले भन्नुभयो, “अब यसलाई ब्यवसायिकतातर्फ अगाडि बढाउनुपर्छ भन्ने उद्देश्य राखेर पचास प्रतिशत अनुदानमा आधुनिक घार वितरण गरेका हौं ।”

मौरीपालन ब्यवसाय मौरीपालन गर्ने ब्यवसायीका लागि मात्रै नभई कृषिका अन्य खेती गर्नेलाई पनि प्रत्यक्ष अप्रत्यक्ष फाईदा पुग्ने ब्यवसाय भएकाले मौरीपालन ब्यवसायलाई प्रोत्साहनस्वरुप घार वितरण गरिएको नगर प्रमुख खाँणले बताउनुभयो ।महको माग अत्याधिक रहेकाले बजारको कुनै समस्या नहुने भएकाले पनि यो ब्यवसायप्रति किसानहरु आकर्षित हुनुभएको नगर प्रमुख खाँणले बताउनुभयो ।कान्छी मनकामना कृषक समूह वालिङ ७, बर्तुङ फूलबारी कृषक समूह वालिङ १०, थुमपोखरा कृषि सहकारी संस्था वालिङ १३ र हुल्काङ कृषि सहकारी संस्था वालिङ १४ लाई ५० प्रतिशत अनुदानमा २५÷२५ वटा मौरीसहितको घार वितरण गरिएको वालिङ नगरपालिका कृषि शाखा प्रमुख केशबहादुर थापाले बताउनुभयो ।मौरीसहितको आधुनिक घारलाई ५० प्रतिशत अनुदानमा प्रति घार ४ हजार ६ सयमा किसानलाई उपलब्ध गराईएको शाखा प्रमुख थापाले बताउनुभयो । छनोट भएका समूह तथा संस्थाका प्रतिनिधिहरुलाई मौरीपालन गर्दा ध्यान दिनुपर्ने कुराहरु, यसको विधिकाबारेमा जानकारी दिएर पठाईएको कृषि शाखा प्रमुख थापाले बताउनुभयो ।