कांग्रेस संसदीय दलको आग्रह : सलहबाट हुने क्षति कम गर्नेतर्फ ध्यान दिउं

प्रकाशित मिति:

बुटवल । नेपाली कांग्रेस प्रदेश संसदीय दलले खेती गर्ने समयमा नेपाल भित्रिएको सलहले पार्न सक्ने क्षति र प्रभावको सुक्ष्म अध्ययन गरि त्यसबाट हुने जोखिम कम गर्न कृषकलाई सचेतनामुलक तालिम सहित सावधानीका कार्यक्रम संचालन गर्न र कृषि प्राबिधिक सहित आवश्यक विषादी र औषधिको व्यवस्थापन गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ । कांग्रेस प्रदेश नं ५ संसदीय दलका कार्यबाहक नेता विरेन्द्र कुमार कनौडियाले आइतवार एक प्रेस विज्ञप्ति प्रकाशित गरि कृषकले वर्षभरिलाई पुग्ने अन्नबाली लगाउने समयमा भित्रिएको सलह किराले पार्न सक्ने क्षति प्रति पार्टीको गम्भीर धानाकर्षण भएको जनाउंदै त्यसको असर कम गर्न कृषकलाई सचेतना कार्यक्रम सहितका आवश्यक औषधिको व्यवस्थापन गर्न प्रदेश सरकारसंग आग्रह गरेका हुन् ।

कृषि तथा पशुपक्षीं मन्त्रालय ले ‘सलह बारे अध्ययन गर्न गठन गरेको कार्यदलले’ नेपालमा यो वर्ष सलह किरा भित्रिने सम्भावना नरहेको प्रतिवेदन जारी गरेको एक महिना भित्रै तराईका जिल्लामा सलह किरा देखिनुले सरकारी संयन्त्रको कार्यशैली माथि नै प्रश्न चिन्ह खडा भएको जनाउंदै विज्ञप्तिमा छिमेकी मुलुकमा सलह आएर बालीनाली नष्ट पारेको समाचार आइरहे पनि नेपाल सरकार र प्रदेश सरकारले त्यसको रोकथाम र न्युनिकरणको लागि सावधानीका कुनै कदम नचाल्नु निकै दुखद भएको उल्लेख गरिएको छ ।साथै यस विषम परिस्थितिमा सम्पूर्ण कृषकलाई सचेत रही धानबालीको बिउ, तरकारी बाली तथा अन्य बालिहरुको बचावटका लागि झुल वा जालीले छोप्ने र आसपासका क्षेत्रमा ठूलो ध्वनि तथा धुंवाको प्रयोग गरी बचावट गर्न समेत नेपाली कांग्रेस संसदीय दल प्रदेश ५ ले अनुरोध गरेको छ ।