राष्ट्र बैंकलाई उद्योगिको ज्ञापनपत्र

प्रकाशित मिति:

बुटवल , असार १४ । कोभिड १९ र लामो समयको लकडाउनले उद्योग क्षेत्रमा पारेको प्रभाव र उद्योगलाई बचाईराख्न नेपाल राष्ट्र बैंकले खेल्नुपर्ने भूमिका सम्बन्धमा रुपन्देही उद्योग संघले राष्ट्र बैंकलाई ज्ञापन पत्र बुझाएको छ । संघले आईतवार भैरहवा शाखामार्फत नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई ज्ञापन पत्र बुझाएको हो । आउंदै गरेको मौद्रिक नीति उद्योग मैत्री हुनुपर्नेमा ध्यानाकर्षण गराईएको छ , अध्यक्ष बाबुराम बोहोराले भने, उद्योगलाई जोगाईराख्न बैंक तथा वित्तिय संस्थाको भूमिका महत्वपूर्ण हुने हुंदा नेपाल राष्ट्र बैंक चनाखो हुनुपर्छ ।

संघले लक डाउन अवधीको ब्याजमा ५० प्रतिशत छुट हुनुपर्ने, ब्याज, सावा र किस्तालाई पुनर्तालिका तयार गरी एकबर्ष म्याद थप गर्नुपर्ने, पुनकर्जाको दायरा फराकिलो र लचिलो बनाइनुपर्ने, बैंक तथा वित्तिय संस्थाले लिने सेवा शुल्क, कर्जा नविकरण, शुल्क लगायतका चार्जहरु एकमुष्ट १० हजार भन्दा बढि लिन नहुने लगायतका माग राखेको छ । यसैगरी सेवामूलक उद्योग होटल, यातायात, कृषि लगायतका उद्योगको कर्जामा विशेष सहुलियत प्रदान गर्नुपर्ने, उद्योग क्षेत्रमा लगानी भएको कर्जामा ७ प्रतिशत भन्दा बढि ब्याजदर हुन नहुने संघको माग रहेको छ । बजारमा तलरलता कम हुन नदिनका लागि नीतिगत सुधारहरु गरिनुपर्ने, शेयर कर्जा ७५ प्रतिशत पुर्याइनु पर्ने लगायतका विषयहरु ज्ञापन पत्र मार्फत उठान गरिएको अध्यक्ष बोहोराले बताए ।

ज्ञापन पत्र बुझ्दै नेपाल राष्ट्रबैंक सिद्धार्थनगरका प्रमुख राजेन्द्र भट्टराईले कोरोना बाट प्रभावित उद्योग तथा वित्तिय संस्थालाई जोगाई राख्न राष्ट्र बैंकले अवलम्वन गरिरहेका रणनीति बारे जानकारी गराएका थिए । उनले मौद्रिक नितीमा उद्योगी व्यवसायीको गुनासा सम्वोधन हुने आश्वासन दिए । संघको डेलिगेशन टोलीमा प्रथम उपाध्यक्ष दिलिप सापकोटा, द्वितीय उपाध्यक्ष कृष्णप्रसाद पराजुली, महासचिव जीवकान्त काफ्ले लगायतको सहभागिता थियो ।