बृहत खानेपानी योजनाको भिडियो कन्फ्रेन्स मार्फत शिलान्यास 

प्रकाशित मिति:

कौरव खत्री, बागलुङ १५,असार – बागलुङ गलकोटको बृहत गलकोट खानेपानी योजनाको बागलुङ क्षेत्र नं २ का संघीय सांसद देवेन्द्र पौडेलले भिडियो कन्फ्रेन्स मार्फत आइतवार शिलान्यास गरेका हुन । शिलान्यास कार्यक्रम पछि बोल्दै सांसद पौडेलले नेपाल सरकारले जनतालाई सर्वसुलभ रूपमा घर घरमै खानेपानीको सुविधा पु¥याउने लक्ष्य अनुरुप काम सञ्चालन गरि रहेको बताए ।

साथै सांसद पौडेलले बृहत गलकोट खानेपानी योजनाले समृद्ध गलकोट निर्माणको उद्देश्यलाई साकार पार्ने भन्दै उनले एक घर एक धाराको अवधारणा अनुरूप योजना सञ्चालन हुने पौडेलले बताउदै त्यसको लागि आवश्यक सहयोग गर्न आफु तत्पर रहेको उल्लेख गरे ।शिलन्यास कार्यक्रममा पण्डित रामचन्द्र गौतम र चिरञ्जीवी मरासिनीले स्वस्तिक बाचन गरी शिलान्यास कार्यक्रम विधिवत रूपमा शुभारम्भ गरिएको थियो । गलकोट नगरपालिका वडा नम्बर ७ मल्म ढुंगेखानी स्थित खानेपानीको मुहानमा शिलान्यास गरिएको कार्यक्रममा संघीय खानेपानी तथा ढल व्यवस्थापन योजनाका वरिष्ठ इन्जिनियर शेखर चन्द्र केसीले खानेपानीको योजना बारेमा जानकारी गराएका थिए ।

साथै योजना हालका लागि गलकोट नगरपालिका वडा नं ३, ५ र ७ मा सञ्चालन हुने जनाएको छ । बहुवर्षीय योजना अन्तर्गत १५ करोडको लागतमा बृहत खानेपानी योजना सम्पन्न हुने बृहत गलकोट खानेपानी योजना निर्माण समितिका अध्यक्ष छुम बहादुर थापाले जानकारी दिए । खानेपानी योजना निर्माण कार्य सम्पन्न भएपछि एक घर एक धारा हुनेछन् ।खानेपानी योजनाको हाल पाइपलाईन निर्माण, ट्याङ्की, इन्टेक, क्याच मेन निर्माण गरिने गलकोट नगरपालिका वडा नं ७ का वडाअध्यक्ष सुवेदार टिका बहादुर थापाले जानकारी दिए ।

विश्व व्यापी रुपमा माहामारीको रूपमा फैलिरहेको कोरोना भाइरसको कारण भिडियो कन्फ्रेन्स मार्फत शिलान्यास कार्यक्रम गरिएको निर्माण समितिका सचिव रुद्र केसीले बताए ।खानेपानी शिलान्यास कार्यक्रममा जनप्रतिनधिहरु स्थानीय राजनैतिक दलका प्रमुख एवं प्रतिनिधिहरु, निर्माण समितिका पदधिकारीहरु, अनुगमन समितिका पदधिकारीहरु, सल्लाहकार सदस्यहरू लगायतको सहभागिता रहेको थियो ।