‘सरकार ढाल्ने खेलः बेमौसमी,आत्मघाती र राष्ट्रघाती’

प्रकाशित मिति:

बुटवल । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय अध्यक्ष, वरिष्ठ पत्रकार तथा अधिवक्ता बालकृष्ण चापागाईंले सोमबार एक विज्ञप्ति जारी गरी सरकार ढाल्ने खेल यतिबेला बेमौसमी, आत्मघाती र राष्ट्रघाती हुने भन्दै यसो नगर्न सबैमा विनम्र आग्रह गर्नु भएको छ । विज्ञप्तिमा यति बेला प्रधानमन्त्री ओली मातृभूमिको रक्षार्थ दृढतापूर्वक खडा भइरहनु भएको भन्दै उहाँलाई बलियो, सशक्त र उच्च मनोबलका साथ चट्टनी शक्तिको रुपमा अगाडि बढ्ने वातावरण सिर्जना गर्न आग्रह गर्नु भएको छ ।

उहाँले अहिलेको समयमा ओली सरकार बलियो हुनु भनेको राष्ट्रियता बलियो हुनु हो भन्दै यसतर्फ सबैको ध्यानाकर्षण होस् भन्ने कामना गर्नु भएको छ । विज्ञप्तिमा उहाँले मुलुक यतिबेला कोरोनाका कारण लकडाउनमा छ । यसले गर्दा देशको अर्थतन्त्र धरासायी बनिरहेको छ । यो आर्थिक संकटलाई कसरी सामना गर्ने भन्ने ठूलो चुनौती सरकार सामु छ । आम जनता एकातिर महामारीको प्रकोपबाट कसरी जोगिने भन्ने चिन्तामा छन् भने अर्कोतिर कसरी दैनिक जीवनको गुजारा चलाउने भन्ने चिन्तामा छन् भन्दै स्वदेशमै पनि आफ्नो घर परिवार भन्दा बाहिर रहेका नेपाली होउन् या अन्य कारणले विदेशमा भएका वा पुगेका नेपालीहरुको अवस्था होस्, अत्यन्तै भयावह र कारुणिक रहेको बताउनु भएको छ ।

विज्ञप्तिमा उहाँले यो समस्यालाई कसरी समाधान र व्यवस्थापन गर्ने भन्ने विषयले नेपाल सरकार सामु गम्भीर चुनौती खडा गरिदिएको छ । नेपालमा आफ्नो घर वा समाजमा बसिरहेका नेपालीको मन पनि यतिबेला विदेशिन बाध्य नेपालीहरुको दुर्दशा देखेर अत्यन्त पीडाको महशुस भएको छ । मुलुकमा शिक्षा, स्वस्थ्य, पर्यटन, सञ्चार, उद्योगलगायत आयमूलक व्यवसाय अत्यन्त ठूलो संकटमा छन् भन्दै यसले गर्दा ठूलो बेरोजगारी समस्या खडा भएको बताउनु भएको छ । विज्ञप्तिमा उहाँले नेपालको राष्ट्रिय अखण्डतासँग जोडिएको लिपुलेक, लिम्पियाधुरा र कलापानी समेटिएको नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा नेपाल सरकारले जारी गरी त्यसलाई प्रतिनिधि सभा एवं राष्ट्रिय सभाबाट पारित गरेपछि नेपाली भूमिमाथि कब्जा जमाई आफ्नो बनाउन चाहने विदेशी तत्वले नेपाल सरकारलाई अप्ठ्यारो पार्न खोजेको स्पष्ट संकेत प्रधानमन्त्री के.पी. शर्मा ओलीले आफ्नो मन्तव्यमा दर्शाउनु भएको भन्दै मातृभूमिको रक्षार्थ चालिएको कदमबाट विदेशी तत्वले सरकारलाई अप्ठ्यारोमा पार्न खोजेकोप्रति सबै नेपालीहरु सचेत रहन आग्रह गर्नु भएको छ ।

विज्ञप्तिमा नेपाल सरकारका सामु यतिबेला एमसिसी स्वीकार गर्ने वा नगर्ने भन्ने प्रश्न पनि चुनौतीको रुपमा खडा भएको चर्चा गर्दै यसलाई पनि राष्ट्रिय हित हुने गरी एउटा टुङ्गोमा पु¥याउनु पर्ने भन्दै मुलुकमा देखापरेका सबै समस्यालाई व्यवहारिक एवं विधिसम्मत रुपमा टुङ्गो लगाउनु सबैको साझा दायित्व भएको बताउनु भएको छ ।विज्ञप्तिमा यस घडीमा सरकार कमजोर बनाउने र के.पी. ओलीलाई प्रधानमन्त्रीबाट हटाउन खोज्ने जस्ता अवान्छित प्रयास कहीं कतैबाट सुरु भएका छन् भने त्यसलाई गम्भीरतापूर्वक लिदै तत्काल रोक्न या असफल पार्नु आवश्यक भएको भन्दै पार्टीभित्रका आन्तरिक सबाललाई पद्धतिसम्मत ढङ्गले समाधान गर्नका लागि प्रधानमन्त्री के.पी. शर्मा ओली पनि तयार हुनुपर्ने बताउनु भएको छ ।