मुख्यमन्त्री गुरुङ धान खेतमा

प्रकाशित मिति:

स्याङ्जा / गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आधुनिक प्रविधिको उपयोग गरी कृषिको उत्पादकत्व बढाउनु पर्ने बताए । स्याङजामा आयोजित गण्डकी प्रदेश स्तरीय १७ औं राष्ट्रिय धान दिवस तथा पुतलीबजार नगरपालिका ४ स्थित गोठिङ् चक्लाबन्दीको उदघाटन गर्दै मन्त्री गुरुङले निर्वाहमुखी कृषि प्रणालीलाई परिवर्तन गर्दे ब्यावसायमुखी आधुनिक कृषि प्रणाली अवलम्बन गर्नुपर्नेमा जोड दिए ।

‘सामन्ती पाराको धान रोपाइँले उत्पादन बढ्दैन,’ उनले भने, ‘अब हलो जोताएर धान उत्पादन बढ्दैन, बीउ बिजन, जग्गा जमिनसहित आधुनिक औजारका प्रयोगले मात्र उत्पादन वृद्धि हुने हुँदा यिनीहरुको उपयोग गर्दे कृषि उत्पादन बढाउनुको विकल्प छैन ।’ गण्डकी प्रदेशले कृषि उत्पादनलाई पहिला प्राथमिकता राखेको बताउँदै प्रदेशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने लक्ष्य राखेको उनले बताए । चक्लाबन्दीमा उत्पादित सबै बस्तुको बजारीकरण, कृषि यान्त्रीकरण, आधुनिकीकरण लगायतका क्षेत्रमा किसानलाई सहयोग गर्न प्रदेश सरकार तयार रहने प्रतिवद्धता जनाए ।

‘गण्डकी प्रदेश सरकारले चक्लाबन्दीलाई प्रोत्साहन गरेको र गोठिङ फाँटलाई नमुना बनाउने चाहना छ,’ मुख्यमन्त्री गुरुङले भने, ‘चक्लाबन्दी गरिएको जमिनमा सिँचाइ, प्रविधि तथा उन्नत बीउबीजन लगायतको लागि नीतिगतरुमै व्यवस्था मिलाउने छ ।’मुख्यमन्त्री गुरुङले गोठिङ फाँटमा पुगेर चक्लाबन्दीको रिवन काटेर उदघाटन गरे । ट्याक्टरबाट खेत जोत्न गरेको आयोजकको आग्रहलाई मुख्यमन्त्री गुरुङले चालकसँगै टयाक्टरमा चढेर खेतको फन्को मारेका थिए ।पुतलीबजार नगरपालिका ४ स्थित गोठिङ्मा स्वामित्व रहेका यहाँका एक सय २० जना किसानका ३ सय १० रोपनी खेतलाई चक्लाबन्दी गरिएको छ । पहिलो खेती सोमबार असार १५ मा धान रोपेर सुरुवात गरिएको वडाअध्यक्ष ओम खडकाले जानकारी दिए । कार्यक्रममा गण्डकी प्रदेश कृषि सचिव अच्यूत ढकाल, कृषि ज्ञान केन्द्रका प्रमुख शालिकराम अधिकारी, गोठिङ फाँट चक्लाबन्दी कृषक समूहका अध्यक्ष दयासिन्धु पोखरेल, सचिव बाबुराम पोख्रेल लगायतले उत्पादन र उत्पादकत्व बढाउनु पर्नेमा जोड दिए ।अन्नपूर्ण पोष्ट बाट