अखिल (क्रान्तिकारी) लुम्बिनी ब्युरोद्धारा शुल्क असुली विरुद्ध सङ्घर्ष घोषणा

प्रकाशित मिति:

असार १६, बुटवल । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) लुम्बिनी ब्युरोले बन्दाबन्दीको समयमा अनलाइन शिक्षाको नाममा विद्यार्थी र अभिभावकबाट शुल्क असुल गर्ने, पाठ्यक्रम परिवर्तन गर्ने र विभिन्न वहानामा चर्को अशुल गर्ने गरिएको विरुद्धमा सङ्घर्षको कार्यक्रम घोषणा गरेको छ । शुल्क फिर्ता नगरिए प्रतिरोधात्मक सङ्घर्ष गर्ने समेत बताएको छ ।

मंगलबार लुम्बिनी ब्युरोका संयोजक विरेन्द्र विकले एक प्रेस विज्ञप्ती जारी गर्दै बन्दाबन्दीको अवस्थामा अनलाइन शिक्षाको नाममा प्याब्सन र एनप्याब्सनले शुल्क असुल गर्न निर्देशन गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै यो निर्णय तत्काल फिर्ता गर्न माग गरेका छन् । उनले बिद्यार्थी एवं अभिभावकहरुलाई शुल्क नतिर्न र तिर्न दवाब दिए संगठनलाई जानकारी गराउन अपील समेत गरेका छन् । विज्ञप्तीमा भनिएको छ, “प्याब्सन र एनप्याब्सनले अनलाइन शिक्षाको नाममा बन्दाबन्दी रहेको अवस्थामा अभिभावकसँग रकम असुल गर्न जारी गरेको संयुक्त अपिलप्रति गम्भीर ध्यानाकर्षण भएको छ र हामी यो निर्णय तत्काल फिर्ता गर्न जोडदार माग गर्दछौं । यसका साथै विद्यार्थी र अभिभावकलाई बन्दाबन्दीको अवस्थाको शुल्क नतिर्न अपिल समेत गर्दछौं ।

संघर्षको कार्यक्रम अनुसार असार १७ गते ध्यानाकर्षण–पत्र बुझाउने, असार १९ गते अन्तरक्रिया गर्ने, असार २१ गते शुल्क असुलीको विरुद्ध अभिभावक सहित बिरोध प्रदर्शन गर्ने, असार २३ गते शुल्क असुल गर्ने बिद्यालयमा कालो ब्यानर राख्ने, असार २५ गते शुल्क असुल गर्ने बिद्यालयको लेखा र प्रशासनमा तालाबन्दी गर्ने बताएको छ । त्यसपछि शुल्क फिर्ता नगरिएमा थप प्रतिरोधात्मक सङ्घर्ष गर्ने विज्ञप्तीमा उल्लेख रहेको छ ।