लकडाउनका विच उद्योगी व्यवसायीलाई बैंकको ताकेता

प्रकाशित मिति:

सबलडेक्स । कोरोना भाइरसको त्रासले देशमा नै आर्थिक मन्दी छाएको छ । भएका उद्योग, व्यवसाय बन्द भएपछि आर्थिक कारोबार ठप्प भएको हो । आयात, निर्यात र उद्योगको उत्पादन मात्रै बन्द भएको छैन, बजारमा विक्रि हुने वस्तु उत्पादन र विक्रिमा पनि कमि भएको छ । लकडाउनको प्रभावमा रुपन्देहीका होटल व्यवसाय, उद्योग कलकारखाना र अन्य पनि परेका छन् ।सरकारले बैंकलाई चैत मसान्तको ब्याज असारमा लिन जारी गरेको निर्देशन बैंकले पालना नगरेको उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष नारायण प्रसाद भण्डारीले बताए । दिनको १० जना साथीको फोन आउंछ, बैंकले फोन गरे भनेर, उनले भने, नतिर्ने होइन, समय लाग्ने हो, वित्तिय संस्थाले सहयोगी भावना देखाएका छैनन् । बैंकले लकडाउनलाई व्यक्तिगत समस्या हो भन्दै ताकेता गर्ने गरेको गुनासो धेरै आएको भण्डारीले सुनाए । भण्डारीले वित्तिय संस्थाको असहयोगलाई सामाजिक संजालमा पोष्ट गरी वित्तिय संस्थाले यस्तो समयमा सहयोगी भावना नदेखाएको अनुभव उद्योगीले गरेको समेत बताए । यो संकटका बेला खाद्य, मेडिकलजन्य सामाग्री उत्पादन र विक्रि गर्ने गरेपनि अन्य सबै उद्योग र व्यवसाय बन्द भएको उनले बताए । सरकारले विना जरिवाना असार मसान्तमा तिर्न भनेकाले उद्योगीलाई वित्तिय संस्थाबाट दबाब नदिन आग्रह गरे । कतिपय वैकहरुले फोन गर्दा नपुगेर घरमै गएर ताकेत गर्न थालेका छन् ।

सरकारलाई धेरै कर तिर्ने उद्योग मध्येको एक तिलोत्तमा १६ मा रहेको अन्नपुर्ण एग्रोले उत्पादन गर्ने दाना प्रदेश ५ बाहेक अन्य प्रदेशमा पनि विक्रि हुन्छ । कोभिड १९ को त्रासले भएको लकडाउनले उद्योग संचालनमा समस्या परेको संचालक राजु पराजुलीले बताए । हामीले दाना पठाउने कुखुरा कृषक नै मारमा छन्, उनले भने, खोरमै कुखरा मर्ने, अण्डा बिग्रिंदा त्यती धेरै उत्पादन गरेका छैनौं । उद्योगबाट ढुवानी गरेर टाढा लान पनि समस्या भएकाले यो समयमा सबैतिर समस्या हुंदा स्वत : कारोबार र व्यापारमा ह्रास आएको पराजुलीले सुनाए । दैनिक २२ सय बोरा दाना उत्पादन हुने अन्नपुर्ण एग्रोमा अहिले त्यसको ५ प्रतिशत मात्र भएको छ । १ सय ३५ कर्मचारी विदामा छन् । उनीहरुले कमाएर खाने बाटो पनि कोरोनाले प्रभावित पारेको उनले गुनासो गरे ।

उता, देवदहमा अवस्थित तुलसी पाउरोटी उद्योग खाद्यान्नकैै उद्योग भएपनि सप्लाईको दायरा घटेपछि उत्पादन घटेको र आम्दानी खस्केको संचालक ललित तिवारीले सुनाए । परासीसम्म पाउरोटी, समोसा, डोनट विक्रि भएको उद्योगमा अहिले यी खाद्यान्न धेरै दिनसम्म राख्न नहुने भएकाले स्थानिय व्यवसायीले माग गरेअनुसार थोरै उत्पादन गरिएको उनले बताए । दैनिक ४० हजार रुपैयांसम्म आम्दानी हुन्थ्यो, उनले भने, अहिले त उत्पादन बन्द, कर्मचारीलाई तलब दिने कसरी भन्ने भईराछ । एक कर्मचारीको ४५ हजार रुपैयांसम्म तलब रहेको तिवारीले बताए । वित्तिय संस्थाको समस्यामा आफु नरहेपनि अन्य उद्योगी र व्यवसायीलाई पनि यो बेलामा सहजता प्रदान गर्नुपर्ने उनले सुझाए ।
लकडाउनको प्रभावमा परेका सैनामैना २ मा रहेको सुन्दरविकास फाईबर उद्योग प्रालीका संचालक दुर्गा गौतमले बताए । लकडाउन सुरु भएको दिनबाटै उद्योग बन्द रहेकाले सरकारले केही प्याकेज दिन्छ कि भन्ने आशमा रहेको उनले बताए । वित्तिय संस्थाबाटै क्रृण लिएर चलेका छौं, उनले भने, बैंकलाई राज्यले ग्राहकबाट संकटको बेलाको रकम मिनाहा गरिदिन भने हुन्थ्यो ।

सरकारले नै बैंकलाई ग्राहकमार्फतको केही रकम दिएर नागरिकलाई राहत दिनुपर्ने गौतमले बताए । १२ कर्मचारी कार्यरत उद्योगको फाईबर प्रदेश १ र २ बाहेक सबै प्रदेशमा विक्रि हुने गथ्र्यो । कतिपय स्थानबाट उठ्नुपर्ने रकम नउठेको र उत्पादन बन्द रहेकाले आफुहरु मारमा परेको उनले सुनाए ।कोरोनाको हल्ला आउनेबित्तिकैबाट प्रभावित भएको होटल व्यवसायमा आबद्ध धेरै व्यवसायी उच्च मारमा परेको बताउंछन् । घरबेटीलाई उच्च भाडा तिरेर संचालित होटलले व्यवसाय संचालन गर्न नपाएपछि सरकारबाट घरबेटीलाई बहाल रकम छुट दिन निर्देशन नै दिनुपर्ने होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ, रुपन्देहीका अध्यक्ष समुन्द्र जिसीले बताए । बैंकले पनि ताकेता छोेको छैन, गुनासै गुनासोका साथ व्यवसायी बसेका छन्, उनले भने, सरकारले हाम्रा लागि सम्बोधन गर्न जरुरी छ । देशको अर्थतन्त्रको ठुलो भाग ओगटेको होटल क्षेत्रलाई राज्यले संकटमा सघाउनुपर्ने जिसीले बताए । साथै होटलमा कार्यरत केही मजदुरलाई सम्बन्धित जिल्ल पठाउन पनि समस्या भएको उनले बताए । केही दिनमै खुल्ला भनेर बसेका मजदुर छन्, उनले थपे, उनीहरुलाई घर पठाउन पनि नसकिएको अवस्था छ । सरकारी पक्षले यस्ता विषयमा सहज समन्वय गर्नुपर्ने जिसीले बताए ।