ओली प्रचण्ड छलफल : पार्टीको एकताको मर्म अनुसार अघि बढ्ने

प्रकाशित मिति:

काठमाडौँ । सत्तारुढ नेपाल कम्यु्निस्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्षकमल दाहाल प्रचण्डले पार्टीको एकताको मर्म अनुसार अघि बढ्ने समझदारी गरेका छन् । पार्टी भित्र आन्तरिक विवाद बढ्न थालेपछि आज बालुवाटारमा भएको छलफल पार्टीभित्रको विवाद समाधान गर्ने विषयमा केन्द्रित रहेको र छलफल सकारात्मक रहेको जनाइएको छ ।

बैठकमा सहभागी नेताहरुका अनुसार बैठक सकारात्मक दिशामा अघि बढेको छ भने थप छलफल गरेर दुबै पक्षलाई मिलाएर अघि बढ्ने आधार तयार भएको छ ।पछिल्लो समय पार्टीभित्र बढ्दै गएको असन्तुष्टिका कारण पार्टी नै फुटको संघारमा पुगेको भन्दै नेताहरुबाट गम्भीर चिन्ता र चासो प्रकट भएपछि पार्टी एकतालाई जोगाउन छलफल भएको हो ।

गत वैशाखमा सरकारले दुई अध्यादेश ल्याएपछि नेकपामा बढेको विवाद साम्य नहुँदै गत आइतबार प्रधानमन्त्रीले दिएको अभिव्यक्ति र सोहीबीचमा संसद अधिवेशन समेत अन्य गरेपछि विवाद थप उचाइमा पुगेको छ । विवादकै कारण स्थायी समिति बैठक भोलीसम्म स्थगित भएको छ भने योबीचमा सहमति जुटाउने जिम्मा ओली र प्रचण्डलाई दिइएको छ ।