तिहार आजबाट शुरु ,, पहिलो दिन काग तिहार मनाईयो

प्रकाशित मिति:

हिन्दू नेपालीहरुको दोस्रो ठूलो चाड तिहार आजदेखि विधिवत रुपमा शुरु भएको छ । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितियासम्म पाँच दिन मनाइने भएकाले यो पर्वलाई यमपञ्चक पनि भनिन्छ । तिहारको पहिलो दिन आज काग तिहार मनाईएको छ । धार्मिक मान्यता अनुसार यमराजको सन्देश वाहकको रुपमा मानिएको कागलाई यमदूतकै रुपमा लिई पूजा अर्चना गरेर चोखो खानेकुरा दिने गरिन्छ । कागले अन्नबालीमा लाग्ने किरा फट्याङ्ग्रा खाइदिन्छ । कागलाई यमराजको सन्देश सुनाउने यमदूतका रुपमा लिइन्छ । तिहारको पहिलो दिन आज कागको पुजा गरेर काग तिहार मनाएपछि चतुर्दशीका दिन कुकुर तिहार, कात्तिक कृष्ण औंसीका दिन लक्ष्मीपूजा, कात्तिक शुक्ल प्रतिपदाका दिन गाईपूजा, गोवद्र्धन पूजा, नेपाल संवत् ११३५ र म्हपूजा आत्मपूजा एवं अन्तिम दिन कात्तिक शुक्ल द्वितीयाका दिन भाइटीका लगाई तिहार पर्व मनाइन्छ । धार्मिक मान्यता अनुसार वैदिक कालमा भगवान विष्णु खुसी भइ बलिराजालाई कार्तिक कृष्णपक्षको अन्तिम पाँच दिन तीनै लोकको राज्यमाग गर्न पाएस भनी वरदार दिएको र अन्तिम पाँच दिन बलि राजाले आफ्नो राज्यभरि दीपावली गरेको कथासँग जोडिएको छ । यो पर्वको अवसरमा अधिष्ठात्री देवी महालक्ष्मी खुसी भई सबैको घरघरमा बासगरी धनधान्यले भरिपूर्ण पारिदिन्छिन भन्ने मान्यता पनि रहने गर्दछ । यो अवसरमा यमराज खुसी हुन्छन भनी भगवान विष्णुले बलि राजालाई वारदान दिएको मानिन्छ । बलिराजाले राज्य गर्ने पाँच दिन यमराजले फुर्सद पाउने भएकाले आफ्नी बहिनी यमुनाकहाँ गई यमराजले बहिनी यमुनाको पूजागरी बस्त्र, आभुषणहरु दिएर भ्रातृस्नेह जनाएकाले यमपञ्चकको दिन दाजु भाइ र दिदिबहिनीले पूजागरी भाईटीका मनाउँदा दाजुभाइको आयु, कीर्ति, सुख र सम्पन्नतामा वृद्धि हुने विश्वास अनुरुप यमपञ्चकलाई विशेष श्रद्धाभक्तिपूर्वक धुमधामसँग मनाउने गरिन्छ ।