जनउत्थानसहित ६ सहकारीलाई उत्कृष्ट व्यवसाय पुरस्कार

प्रकाशित मिति:

२० असार, बुटवल । रुपन्देहीको जनउत्थान वचत तथा ऋण सहकारी संस्था सहित देशभरबाट ६ वटा सहकारीले उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार प्राप्त गरेका छन् । जनउत्थानले प्रदेश ५ का सहकारी मध्येबाट उत्कृष्ट हुंदै यो पुरस्कार पाएको हो । ९८ औं अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा राष्ट्रिय सहकारी महासंघले ५ वटा प्रदेशका उत्कृष्ट सहकारीहरुलाई पुरस्कृत गरेको हो । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्याल, मन्त्रालयका सचिव केदार न्यौपाने र राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले जनउत्थानकी अध्यक्ष ज्ञानु पौड्याललगायतलाई प्रमाणपत्रसहित पुरस्कृत गरेका हुन् । प्रदेश ५ मै सबैभन्दा धेरै करिब २० हजार जना शेयर सदस्य रहेका जनउत्थानले यसअघि देशभरकै र प्रदेश ५ कै उत्कृष्ट सहकारी तथा उत्कृष्ट व्यवस्थापक पुरस्कार पाइसकेको छ ।

यस्तै गण्डकी प्रदेशबाट कास्कीको पोखरा रोयल वचत तथा ऋण सहकारी, कर्णाली प्रदेशबाट सुर्खेतको हरियो हिरा कृषि तथा जडिबुटी विकास सहकारी,बागमति प्रदेशबाट काठमाडौंको चन्द्रागिरी वचत तथा ऋण सहकारी र प्रदेश २ बाट रौतहटको साना किसान कृषि सहकारी संस्था उत्कृष्ट हुंदै पुरस्कृत भएका हुन् । यस्तै केन्द्रीय सहकारी संघ मध्येबाट नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. काठमाडौं र जिल्लास्तरीय संघहरुमध्ये जिल्ला सहकारी संघ बांके उत्कृष्ट घोषित भएको छ । सो अवसरमा महासंघले झापाको शुभलक्ष्मी सहकारी संस्थालाई १५ लाख रुपैयाँ अनुदान प्रदान गरेको छ । कार्यक्रममा महासंघका निवर्तमान अध्यक्ष केशव बडाल, राष्ट्रिय सहकारी विकास बोर्डका सह अध्यक्ष दक्ष पौडेल, पूर्व अध्यक्ष दीपकप्रकाश बाँस्कोटा, उपाध्यक्ष रमेश पोखरेल, महासंघका लेखा सुपरिवेक्षण समितिका संयोजक धर्मदत्त देकोटा, यूएनडिपी नेपालका सहायक आवासीय प्रतिनिधि विजय सिंहले मुलुकको समृद्धिका लागि सरकारले सहकारीलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका थिए । राष्ट्रिय सहकारी महासंघले आफ्नो २७ औं स्थापना दिवसको अवसरमा हरेक वर्ष उत्कृष्ट सहकारीहरुलाई पुरस्कृत गर्दै आएको छ ।