घरबहाल महासंघले १० औं स्थापना दिवश मनायो

प्रकाशित मिति:

बुटवल, असार । नेपाल घरबहाल सरोकार महासंघ आफ्नो १० औं स्थापना दिवश मनाएको छ । घरबहाल सम्बन्धी समस्या समाधानका लागि आवश्यक पहल गर्ने उद्देश्यका साथ बिसं २०६७ सालमा स्थापना भएको महासंघको स्थापना दिवशका अवसरमा बुटवलमा शुभकामना आदान प्रदान तथा समिक्षा कार्यक्रमको आयोजना गरियो ।  कार्यक्रममा घर तथा सटर भाडामा लिई ब्यबसाय संचालन गर्ने र भाडामा बसोबास गरि समाजका बिभिन्न क्षेत्रमा रोजगारी गर्नेहरुको हकहित संरक्षण र आपसी एकता सुदृढ गर्दै अघि बढिरहेको नेपाल घरबहाल सरोकार महासंघले आगामी दिनमा चाल्नु पर्ने कदमका बारेमा कार्यक्रममा छलफल गरिएको थियो । कार्यक्रममा सहभागिहरुले लकडाउनका कारण थिलो परेको बजार ब्यबसाय र रोजगारीको क्षेत्रलाई उकास्न सरकारले आवश्यक कार्यक्रम तर्जुमा गर्नुपर्नेमा जोड दिएका थिए ।

नेपाल घरबहाल महासंघका संस्थापक अध्यक्ष शंकर कोईरालाले बहालवालाहरुको पक्षमा कानुन नबनाउदा बहालमा बस्नेहरु संधै दोश्रो दर्जाको नागरिकको रुपमा रहने गरेकोमा चिन्ता ब्यक्त गरे । बहालमा बस्नेहरु संधै अपहेलित र अपमानित हुने अवस्थाको अन्त्यका लागि आफुहरुले यो अभियान संचालन गरेको उल्लेख गर्दै बर्तमान अवस्थामा बहालमा बस्नेहरुका समस्या समाधान गर्न सरकारले आवश्यक संबोधन गर्नुपर्ने कुरामा जोड दिए । कार्यक्रममा घरबहाल सरोकार महासंघका संस्थापक सल्लाहकार हरिश ढकालले लकडाउनका कारण प्रत्यक्ष असर परेको ब्यबसायको क्षेत्रमा राहात स्वरुप घरबहाल मिनाहा वा छुट नै प्रमुख मुद्धा रहेकोले त्यसका लागि आम ब्यबसायीहरु एकजुट भएर घरधनी समक्ष आग्रह गर्नुपर्ने बेला आएको बताए । महासंघका केन्द्रिय उपाध्यक्ष एवं प्रदेश संयोजक हरि रेग्मी, केन्द्रिय सचिव राजु लिगल, केन्द्रिय सदस्य शिवराज पोखरेल, जिल्ला अध्यक्ष खेगेन्द्र पौडेल, कोषाध्यक्ष उमा देवकोटा लगाएतले घरबहाल क्षेत्रमा देखा परेका समस्या र समाधानका उपायहरु बारे चर्चा गरेका थिए । करिब १ दशक अघि रुपन्देहीबाट शुरुभएको घरबहाल सरोकार अभियानले घरधनी र बहालमा बस्नेहरु बिच समन्वयकारी भुमिका खेलि बहाल क्षेत्रमा उत्पन्न समस्या सुल्झाउने र पुर्ण ब्यबस्थित मावनताबादी बजार निर्माण गर्ने लक्ष राखेको छ ।