असारे विकास र स्थानीय तह

२३ असार २०७७, मंगलवार ०   बिचार / प्रतिक्रिया


✍️ महेन्द्र प्रसाद भण्डारी – नेपालमा स्थानीय सरकारको परिकल्पना देखि यथार्थ सम्म पुग्दा अधिकार संगै भ्रष्टाचार पनि गाउँगाउँ सम्म पुगेको छ। यहि भ्रष्टाचारको स्वरुपलाई अर्को शव्दमा असारे विकास भनेर व्याख्या गर्दा पनि केही फरक नपर्ला । गाउँगाउँमा विकास ,रोजगार, शिक्षा ,स्वास्थको उचित व्यवस्था हुन्छ भनेर मख्ख परेका स्थानीयहरु असारे विकासले गर्दा स्थानीय सरकारको महत्त्व माथी प्रश्न उठाउन थालेका छन । असारे विकास भन्दै गर्दा धेरै गहिरो कुरा रहन्छ ।

अहिले स्थानिय तहले विकासका नाममा विनाश बढी गरिरहेका छन । बिना सर्वेक्षण बाटो खनिने, असारमा बजेट फ्रीज हुने भएर बजेट निकासका लागि देखावटी विकास गर्ने ,वर्षभरी काम नगर्ने तर असारमा बजेट निकास हुन्छ भनेर असारमै काम सुरु गर्ने र बजेट पाएपछि लथालिङ्ग छोड्ने आदि कार्यहरू नेपालको अधिकांश स्थानीय तहहरुमा व्यापक रुपमा भैरहेको छ। स्थानीय सरकारको असल निति नरहेकोले पहिले पहिले गाउँ ठाउको विकास गर्न सजिलै श्रमदान गर्न तयार नेपाली समाज कसरी बजेट खान पाइन्छ भनेर व्यस्त छ।

केन्द्रबाट पठाइएको यो रकम गाउँको विकास भन्दा पनि विनाशमा बढी खर्च भएको छ। अझै पनि जनताले गाँस , बास र कपासका लागि ठुलो कष्ट गर्न परेको छ। नेपालको दिगो विकास कृषि र पर्यटनबाट सम्भव छ भन्ने कुरा नबुझी आएको बजेट अनावश्यक भवन र संरचना बनाएर सक्काउने स्थानिय तहको विकासलाइ पनि असारे विकास भन्दा फरक नपर्ला । किसानका बालिनाली फौजी किरा , सलह लगायतले सखाप पार्दा स्थानीय तहहरु ठुला भवनहरु निर्माणमा व्यस्त भएको केही महिना अगाडिनै प्रसस्त देखियो । किसानले मल र किटनासक औसधिको अभाव खेपिरहदा स्थानीय तह महँगा गाडी किन्नमा व्यस्त भएको पनि धेरै देखियो ।

स्थानिय तहका पर्यटकिय ठाउँहरु ओझेलमा पर्दा स्थानीय तहका जनप्रतिनिधिको विदेश भ्रमण पनि धेरै देखियो। दानाको अभावमा कुखुरा र माछा मर्दा खोला नभएको ठाउमा पुल बनाएर बजेट खान पल्केको स्थानीय सरकारका काम पनि धेरै देखियो। अहिलेकै कुरा गर्नेहो भने झाडापखालाबाट छटपटीएर क्वारेन्टाइनमा किसोर मर्दा कोरोना भगाउने कार्ड लगाएर मख्ख परेको केन्द्रिय सरकार पनि देखियो ।

बादरले गाउँको अन्नबाली नस्ट गर्दा देश विदेशका चिडियाखाना घुम्दै रमाएका स्थानिय जनप्रतिनिधि पनि देखियो। यसरी गरेको असारे विकासका धेरै बेफाइदा छन भन्ने कुरा स्थानीय तहले बुझ्न अतिआवस्यक छ। गहिरो अनुसन्धान नगरी गरिएको कामले क्षती पुर्याउछ भन्ने कुरा स्थानिय तहले बुझ्न जरुरी छ। पानी परेसङ्गै धेरै ठाउँमा जाने पहिरो र पहिरोले च्यापिएर थुप्रै मानिसको ज्यान जानू पनि असारे विकासकै असर हो। किसानले भोग्न परेको सास्ती पनि असारे विकासको असर हो। प्राकृतिक सुन्दरताले भरिएको देशमा पर्यटकको अभाव पनि असारे विकासकै असर हो । युवाहरूमा देखिएको निराशता पनि असारे विकासकै असर हो।

आफ्नो सीप अरु देश बनाउन युवाहरूलाई बाध्य बनाउने पनि असारे विकासनै हो ।देशमा रास्ट्रवादका ठुला कुरा हुन्छन तर आत्मनिर्भरता नै रास्ट्रको मेरुदण्ड हो भन्ने बुझ्ने कम छन।अहिले असारे विकासको वेगले गर्दा देश झन गरिबीको भुमरिमा पर्छ भन्दा केही फरक नपर्ला । अन्तत: स्थानीय तहले असारे विकासमा भन्दा पनि दिगो विकासमा जोड दिन जरुरी छ। कृषि र पर्यटनलाई उचित तरिकाले व्यवस्थापन र विकास गर्न अति आवश्यक छ। अरबौको कृषिजन्य सामाग्री विदेशबाट भित्र्याइरहेको देशलाई आत्मनिर्भर बनाउन पनि स्थानीय तहको ठुलो भुमिका रहन्छ। पर्यटन बिस्तार र अतिथिलाइ गर्नुपर्ने स्वागत र सत्कारका कुराहरु पनि स्थानीय तहसम्म सिकाउनु जरुरी छ।

गाउँमा स्वरोजगारको व्यवस्था गर्नु जरुरी छ। स्वरोजगारको मतलब सरकारी कार्यालयको झार गोड्न लगाएर रोजगार दियौ भन्ने होइन । रोजगार दिगो र जिवनचर्य चल्न सजिलो हुने हुनुपर्छ । विश्वका थुप्रै मुलुकहरू हाम्रो आखा अगाडि समृद्धिको बाटो लागिसके तर हामी जहिले नेताको समृद्धिको भाषणमै सिमित छौ । आतंकवादले ग्रसित इजरायल अहिले आधुनिक कृषि विकासले धेरै अगाडि पुगिसक्यो ।

पर्यटनको सहि विकासले कयौं देशले कायापलट गरिसके। हामिले पनि त्यसबाट कृषि र पर्यटनको सम्भावनालाई बुझेर त्यस्तै समाज बनाउन पर्छ। त्यसका लागि स्थानिय तहले दिगो सोच लिएर अगाडि हिड्न जरुरी छ।
(लेखक भण्डारी नेपाली कांग्रेसका नेता एबम महासमिती सदस्य हुनुहुन्छ )

फेसबुकबाट तपाईको प्रतिक्रिया