लायन्स क्लब बेलबास सिर्जनशीलको दोस्रो पद हस्तान्तरण

२४ असार २०७७, बुधबार ०   बिचार / प्रतिक्रिया


बुटवल,२४ असार । लायन्स क्लब अफ बुटवल बेलबास सिर्जनशीलको दोस्रो पद हस्तान्तरण तथा सम्मान कार्यक्रम बुधबार सम्पन्न भएको छ । क्लबकी वर्ष २०१९–२० की अध्यक्ष मन्जु भट्टराई घिमिरे नेतृत्वको कार्यसमितिले वर्ष २०२०–२१ की अध्यक्ष विमला गैरे नेतृत्वको कार्यसमितिलाई पद हस्तान्तरण गरेको हो । सो अवसरमा बोल्दै लायन्स जिल्ला परिषद ३२५ बी २ का एरिया ४ प्रमुख सन्दिप कसौधनले महिलाहरुको मात्रै सहभागितामा स्थापना भएको क्लबले छोटो समयमै उल्लेख्य सामाजिक कामहरु गरेको भन्दै आफूले गरेका कामहरुको प्रतिवेदन जिल्ला परिषद र लायन्स इन्टरनेसनलसम्म पु¥याउन सुझाव दिए ।

कार्यक्रममा बोल्दै क्लबको वर्ष २०१९–२० की अध्यक्ष मन्जु भट्टराई घिमिरेले एकवर्षे कार्यकालमा भैरव मन्दिर परिसरमा विभिन्न जातका दुईसय बिरुवा बृक्षारोपण, बेलबासमा मुटु अस्पताल निर्माणका लागि बेलबासकै अर्को लायन्स क्लबसंग मिलेर भैलो खेलेर आर्थिक संकलन,दृष्टिविहीनलाई खाद्यान्न र नगद सहयोग ,मोटिभेसन लगायतका कार्यक्रमहरु गरिएको बताइन् । कार्यक्रममा लायन्स क्लबका रिजन चेयरपर्सन शिवलाल उपाध्याय, डिस्ट्रिक्ट परिषद सदस्य उमलाल बन्जाडे,समाजसेवी पुरुषोत्तम बस्याल,क्लबकी संस्थापक अध्यक्ष मन्दिरा गौडेल,यमकुमारी भट्टराई लगायतले मन्तव्य राखेका थिए ।

क्लबकी अध्यक्ष मन्जु भट्टराई घिमिरेको अध्यक्षता,विमला गैरेको स्वागत र शान्ता गैरेको सञ्चालनमा भएको कार्यक्रममा क्लबले गरेको बृक्षारोपणलाई संरक्षण गरेवापत समाजसेवी बलबहादुर गुरुङ, भैरव मन्दिरका पुजारी खगनाथ राना र यमकुमारी भट्टराईलाई सम्मान गरिएको थियो । कार्यक्रममा वर्ष २०१९–२० की सचिव शान्ता गैरेले वर्ष २०२०–२१ की सचिव सरस्वती खनाललाई क्लबको माइन्यूट र वर्ष २०१९–२० की कोषाध्यक्ष सीता आचार्यले वर्ष २०२०–२१ की कोषाध्यक्ष कल्पना भण्डारी भट्टराईलाई क्लबको चेकबुक हस्तान्तरण गरेका थिए । नवनिर्वाचित अध्यक्ष विमला गेरेले अघिल्लो कार्यकालका कार्यक्रमहरुलाई निरन्तरता दिने र समयसापेक्ष नयां कार्यक्रम पनि गर्ने प्रतिवद्धता जनाइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया