नेविसंघले बुझायो आयल निगमलाई ज्ञापनपत्र

प्रकाशित मिति:

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ नेविसंघले पेट्रोलियम पदार्थमा स्वचालित मूलय प्रणाली पालना गरी तत्काल मूल्य घटाउन माग गर्दै नेपाल आयल निगमलाई ज्ञापन पत्र बुझाएको छ । निगमले असार १६ गते पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि तत्काल खारेज गर्न माग गर्दै नेविसंघ अध्यक्ष राजीव ढुंगाना नेतृत्वको टोली निगम पुगेर ज्ञापन पत्र बुझाएको हो । लकडाउनको अवधिमा मात्र ३ अर्ब नाफा कमाएको नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा थोरै मूल्य बढ्ने वित्तिकै ५ रुपैयाँ बढाउनु गलत भएको भन्दै ज्ञापन पत्र बुझाएको हो ।

नाफा सञ्चित गरी मूल्यवृद्धि उपभोक्ताको थाप्लो हाल्ने प्रवृति बन्द गर्न पनि नेविसंघले माग गरेको छ । नेविसंघले पेट्रोलियम पदार्थमा विभिन्न शीर्षकमा असुल्दै आएको कर समेत खारेज गर्न माग गरेको छ । अध्यक्ष ढुंगानाले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि हुने वित्तिकै ढुवानी भाडा बढ्ने र त्यसको असर उपभोग्य वस्तुको मूल्य वृद्धि भएर उपभोक्तामा पर्ने गरेको बताए । अहिलेको परिस्थितिमा निगमले वैकल्पिक उपाय अवलम्बन गरी मूल्यवृद्धि फिर्ता लिन उहाँले आग्रह गरे । लकडाउनको समयमा उपभोक्ताको आम्दानी घटेको र रोजगारी गुमेको अवस्थामा पेट्रोलियम पदार्थको मूल्यवृद्धि आफैमा अमानविय कार्य भएकाले मुल्यवृद्धि तत्काल खारेज गर्न मागरिएको नेविसंघका महामन्त्री दिपक भट्टराईले बताए ।