सांसद श्रेष्ठले भने संसद बन्द गर्नु लोकतन्त्रमाथीको प्रहार हो ।

२४ असार २०७७, बुधबार ०   बिचार / प्रतिक्रिया


२४ असार- गण्डकी प्रदेशसभा सदस्य मेखलाल श्रेष्ठले केन्द्र सरकारले संसद स्थगन गरेकोप्रति आपत्ति प्रकट गरेका छन् । गण्डकी प्रदेशसभाको बुधबारको बैठकमा विशेष समय लिएर बोल्दै उनले जनताको आवाज बोल्ने ठाउँ नै बन्द गर्नु लोकतन्त्र र संघीयतामाथि कुठाराघात भएको बताए ।

‘लोकतन्त्र सबै मिलेर ल्याएको हो । संविधान सबै मिलेर बनाएको हो । संविधान कार्यान्वयन पनि सबै मिलेर गर्दैछौं’, सांसद श्रेष्ठले भने, ‘यसमा कुनै एउट पार्टी र एउटा व्यक्ति जिम्मेवार हुन सक्दैन । लोकतन्त्र, संघीयता ल्याउन र संविधान निर्माण र कार्यान्वयनमा धेरैको ल्याग र बलिदानी रहेको छ । त्यसैले प्रधानमन्त्री ओलीको एकल निर्णयले मात्र संसद स्थगन गर्नुहुँदैनथ्यो । यसप्रति आपत्ति प्रकट गर्दछु ।’

नेपाली कांग्रेसका सांसद समेत रहेका उनले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बन्द गरेर जनताको अधिकारलाई कमजोर बनाएको आरोप लगाए । बैठकमा सांसद श्रेष्ठले राष्ट्रियताको विषयमा पनि आफ्नो धारणा राखे । उनले नेपालको भूमि सम्बन्धमा नक्शा जारी गर्नु आफैमा ऐतिहासिक कदम भए पनि भूमि फिर्ता नभएसम्म ढुक्क हुने अवस्था नभएको स्पष्ट पारे । उनले भने, ‘नेपालको भूमि फिर्ता नभएसम्म सबै राजनीतिक दलहरू र जनता मिलेर अघि बढ्न आवश्यक छ’, उनले भने । साथै सांसद श्रेष्ठले प्रधानमन्त्री ओलीको पछिल्लो अभिव्यक्ति बारेमा पनि आपत्ति जनाएका छन् । उनले प्रधानमन्त्री ओलीले विचार नै नगरी गैरजिम्मेवार अभिव्यक्ति दिएर सार्वभौमसत्ता खण्डित गर्ने काम गरेको आरोप लगाए ।

उनले पछिल्लो समयमा चीनका राजदूतको सक्रियताप्रति पनि ध्यानाकर्षण गराएका छन् । ‘नेपालको एउटा दलको घर झडगडामा एउटा कुटनीतिक नियोगका प्रमुख नेताहरूको घर–घरमा पुग्नका लागि नेपालको कुन संविधान र कुन कानूनले दिन्छ रु’, उनले प्रश्न गरे । नेपालमा कुनै पनि विदेशी हस्तक्षेप नेपालीलाई सैह्य नहुने सांसद श्रेष्ठले चेतावनी दिए । यसैगरी सांसद श्रेष्ठले कोरोना भाइरसबाट मुलुक ग्रसित भएको र यसको असर गण्डकी प्रदेशमा पनि परेको बताए । उनले कोरोना नियन्त्रण तथा रोकथाममा सरकारले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको आरोप लगाए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया