पहिरोले पुरिएर पोखरामा ४ जनाको मृत्यु 

प्रकाशित मिति:

काठमाडौं /अविरल वर्षापछिको पहिरोले पुरिएर पोखरामा ४ जनाको मृत्यु भएको छ ।गएराति पोखराका विभिन्न स्थानमा चार जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् ।राति अन्दाजी २:४५ बजेको समयमा पोखरा महानगरपालिका–१८ सराङकोट गोठादीस्थित टङ्कबहादुर थापाको घरमाथिबाट खसेको पहिरोमा पुरिँदा तीन जनाको मृत्यु भएको छ ।

पहिरोमा पुरिएर घाइते भएका अन्य छ जनालाई उद्धार गरी मणिपाल शिक्षण अस्पताल र पश्चिमाञ्चल अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।थापाको घरमा विहीबार परिवारमा जन्मदिन मनाउने कार्यक्रम रहेकाले घरमा कति जना थिए र को थिए भन्ने खुल्न नसकेको उनले बताए । प्रहरी र स्थानीयवासीले घाइतेको उद्धार गरेका थिए ।

यस्तै पोखरा महानगरपालिका–२५ हेमजामा रामचन्द्र अधिकारीको घर पहिरोमा पुरिँदा अधिकारीकी आमा ७० वर्षीया भीमकली अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।घटनामा अन्य मानवीय क्षति नभएपनि तीन वटा बाख्रा पुरिएका छन् । पोखरा–१८ छोरेपाटन सिमलटुँडामा चन्द्रबहादुर मगरको घर माथिबाट खसेको पहिरोमा परी मगरसहित उनकी श्रीमति शान्ति र छोरा सुशान मगर सामान्य घाइते भएका छन् ।उनीहरुको नमस्ते अस्पतालमा उपचार भइरहेको प्रनाउ हमालले जानकारी दिए । अविरल वर्षासँगै पोखराको रामघाटस्थित सेती नदी थुनिँदा सुकुम्वासी बस्ती डुबानमा परेको र स्थानीयवासीलाई रातिनै माइकिङ गरी अन्यत्र सुरक्षित स्थलमा लगिएको जनाइएको छ ।खबरहब