बन्दाबन्दीले निजी विद्यालय संकटमा : प्याब्सन

२७ असार २०७७, शनिबार ०   बिचार / प्रतिक्रिया


तिलोत्तमा÷बुटवल, २६ असार । विश्वमा फैलिएको कोरोना संक्रमण र त्यसपछिको बन्दाबन्दीले निजी शैक्षिक संस्थाहरु सबैभन्दाबढी मारमा परेको निजी तथा आवासिय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन) रुपन्देहीले जनाएको छ । विद्यालयमा नियमित पठनपाठन हुन नसक्दा शिक्षक, विद्यार्थी तथा संचालकहरुमा मनोबैज्ञानिक असर परेको ठहर गर्दै यसका लागि सरकारसँगै उपयुक्त राहत प्याकेज घोषणा गर्न प्याब्सन रुपन्देहीले आग्रह गरेको छ । शुक्रबार बुटवलमा शैक्षिक बहस कार्यक्रम गरेको प्याब्सनले नियमित विद्यालय संचालन हुन नसक्दा विद्यालयमा आश्रित शिक्षक कर्मचारीले आफ्नो रोजगारी गुम्ने मनोबैज्ञानिक त्रास बढेको ठहर गरेको छ । कार्यक्रममा प्याब्सन रुपन्देहीका अध्यक्ष लेखनाल पौडेलले कार्यपत्र प्रस्तुत गर्दै सरकारद्वारा निजी विद्यालयका शिक्षक कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि समेत उपयुक्त राहत प्याकेज घोषणा गर्नु पर्ने बताउनुभयो । कति पय विद्यालयले गत शैक्षिक सत्रको फि (शुल्क) समेत उठाउन नपाएको उल्लेख उहाँले नियमित पठन–पाठन नहुँदा विद्यार्थीहरुमा दीर्घकालीन असर परेको बताउनुभयो । गएको चैतमा हतारहतारमा बार्षिक परीक्षा सक्नु पर्ने बाध्यता र त्यसपछि विद्यालय बन्द गर्नु परेका समस्याले निजी विद्यालय संकटमा परेको प्याब्सनको भनाई छ । प्याब्सनले लकडाउनका कारण घर बहाल, शिक्षक कर्मचारीको तलवभत्ता, संरचना निर्माणका लागि बैंकबाट लिइएको ऋणको ब्याज समेत ब्यवस्थापनमा कठिनाई भएको गुनासो गरेको छ । अध्यक्ष पौडेलका अनुसार मुलुभर करिव ६ अर्ब लगानी सहितका ८ हजार निजी विद्यालयहरु संचालन रहेका र ढाई लाख शिक्षक कर्मचारीमा आफ्नो रोजगारी गुम्ने त्रास रहनुका साथै अभिभावक र विद्यार्थीमा पनि उत्तिकै निराशा बढेको छ । प्याब्सनले २०७६÷७७ को आम्दानी खर्चलाई आधार मानेर कम्तिमा ६ महिनाको विलविजक बराबरको रकम सरकारले ग्यारेन्टी र सम्वन्धित विद्यालय संचालकको जमानीमा उपलब्ध गराउने ब्यवस्था गर्न माग समेत गरेको छ । सरकारले असार १ गतेदेखि भर्चुअल कक्षा संचालन गर्ने निर्देशिका जारी गरेको सन्दर्भमा सोही अवधिबाटै नयाँ शैक्षिकसत्र शुरु गर्ने आधार सृजना गर्न प्याब्सनले सरकारसँग अनुरोध गरेको अध्यक्ष पौडेलले बताउनुभयो । मास्क, सेनेटाईजर, गर्मलगन र ठाँउठाँउमा हात धुने ब्यवस्था सहित विद्यालय संचालकका लागि पुर्व तयारीहरु अपनाउन निजी विद्यालयहरु तयार रहेको प्याब्सनको भनाई छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया