मिडियामा भाषाको प्रयोग र प्रवृत्ति

२७ असार २०७७, शनिबार ०   बिचार / प्रतिक्रिया


आम संचार आम नागरिकलाई सुसुचित गर्ने माध्यम हो । आम संचारले उठाउने कुरा आम नागरिकका हुन्छन् आम नागरिकका लागि तयार गरिएका हुन्छन् । संचार माध्यम समाचारको भाषा चयनमा कति पाठकमैत्री छन् ? भाषाको चयन र प्राथमिकतामा नेपाली संचार माध्यम कहाँ कहाँ च्ुकेकाछन् ? सेफर्ड कलेज काठमाडौंले शुक्रबार नेपाली मिडियाको भाषा प्रयोग र प्रवृतिको विषयमा अनलाइन छलफल गर्यो । कविता शर्माले संयोजन गरेको कार्यक्रममा पत्रकार श्याम सुन्दर शशी, पत्रकार तथा प्राध्यापक जगत नेपाल र राष्ट्रिय समाचार समितिका कार्यकारी सम्पादक कृष्ण अधिकारीले आफ्ना राय राखेको थिए । प्रस्तुत छ कार्यक्रमको सम्पादित अंश :

कृष्ण अधिकारी  : नेपालमा पत्रकारिताको इतिहास सय बर्ष नाघ्दा पनि भाषाको कुरालाई प्राथमिकता दिएको पाइन्न । पत्रकारिताको भाषा आम पाठकले ग्रहण गर्न सक्ने खालको हुनुपर्छ । हिजो इतिहास हेर्दा शासक र नागरिकलाई सम्बोधन गर्ने कुरामा पनि विभेद थियो । त्यसकै कारण धेरैका जागिर गएका पनि छन् । तर अहिले सामान्य सम्बोधनमै फरक नल्याएको अवस्थामा संकट पर्ने स्थिति आउने अवस्था छैन । हामी डेस्कमा बसेर पनि धेरै तिरका समाचार हेरेका हुन्छौं, हामी कहाँ आएका समाचारमा विविधता हुन्छन्, त्यसलाई जतिसक्दो सामान्य बनाउनको लागि बुझ्ने बनाउनको लागि हाम्रा प्रयास हुन्छन् । पत्रकारितामा दोहोर अर्थ लाग्ने तथा फरक अर्थ लाग्ने धेरै शब्द पनि हुन्छन् । भाषा नै धेरै जटिल विषय त हैन तर यसलाई केही पनि हैन भनेर वेवास्ता गर्न पनि मिल्दैन । मिडियामा आएका कुराहरुले आम पाठक स्रोतामा असर पुराएको हुन्छ । अहिले भाषाकै कुरा गर्दा अग्रेजी, नेपाली भाषा र अन्य भाषाको मिश्रित प्रयोग हुन थालेको छ । यसले सबै कुरामा असर पुराउँछ भन्ने त हुँदैन तर यसलाई अति स्वतन्त्रता पनि घातक हुन्छ ।
भाषाको काम भनेको बुझाउन खोजेको कुरा सहज रुपमा बुझ्ने गरि प्रस्तुत गर्ने पनि हो । हामीकहाँ अग्रेजी भाषाको प्रयोग विस्तारै बढ्दै गएको छ । केही अग्रेजी पत्रिका पनि निस्कछन्छन् तर ती पनि अग्रेजी भाषाको शब्द चयनमा अब्बल छन् भन्ने छैन तथापी तिनले आफ्ना लक्षित पाठकलाई ध्यानमा राखेर आफ्ना तरिकाले प्रस्तुत हुँदै आएकाछन् । तर पनि नेपाली भाषाको जस्तो अग्रेजी भाषाको टिका टिप्पणी हुने गरेको हुँदैन यसलाई कतिले प्रयोग गर्छन भन्ने कुराले यसलाई प्रभावमा राखेको होला । नेपाली भाषाको पत्रकारितामा सम्पादक , रिर्पोटरहरुलाई लक्षित गरेर अलोचना हुँदै आएका छन् । पत्रकारितालाई हतारको साहित्य भनिन्छ तर यसलाई यही भनेर उम्किन पक्कै पाइदैन । पत्रकारिताको शैलीमा सुधार गर्न आवश्यक छ । पाठकले सधै पत्रकारितालाई हतारको रुपमा मात्र बुझ्न तयार छैनन् । पत्रकारितामा रहेकाहरुनै यसक कुरामा सचेत हुन जरुरी छ । अहिले पाठक स्रोतामा धेरै विकल्प छन् । पाठक स्रोता एउटै मिडियामा अडिन तयार छैनन् ।

श्याम सुन्दर शशी : नेपाली भाषा बाहेकका नेपाल भित्रका अन्य भाषभाषीका पत्रिका तथा अन्य संचार माध्यमलाई सबैले प्राथमिकता दिने, हेर्ने पढ्ने काम कमै भएको छ । तिनलाई प्रवद्र्धन गर्नको लागि सबैको चासो र त्यस प्रतिको आर्कषण बढाउन पक्कै पनि जरुरी छ । हामी अमेरिकाको पत्रिका बिहानै काठमाडौंमा हेर्छौं तर काठमाडौंमा बसेर जनकपुरको पत्रिका हेर्दैनौं तर त्यही समयमा जनकपुरले काठमाडौंको पत्रिका हेरेको हुन्छ । अहिले पत्रकारितामा गर्दै सिक्दै आएको अवस्था छ । पत्रकारिता अध्ययनमा पनि विस्तार भएको छ तर तिनी पत्रकारिताको कक्षा र न्युज रुपमा आफुलाई सिकाई प्रस्तुत गर्ने कुरा पनि अक्षरस लागु हुन सकेको छैन ।

काठमाडौंमा बसेर नेपाली भाषाको कुरा गरिएको हुन्छ । मिडियाले आम नागरिकलाई सुसुचित गराउन खोजिएको हुन्छ । पाठक नेपालभर हुन्छन् , तिनका भाषाका आफ्नै शैली हुन्छन् । भाषाका धेरै फ्लेवर हुन्छन् तर मिडियाले त्यसलाई प्राथमिकता दिएका हुन्नन् । नेपाली पत्रकारिताले नेपाल भित्रका अन्य भाषाका मिडिया पनि छन् है भन्ने कुरा विर्सिएको छ । कतिपय सम्पादकले अन्य भाषाभाषीलाई सम्मान गर्दै समाचार सम्पादन गरिएका हुन्छन् तर कति सम्पादकले नेपाली भाषा बाहेकका भाषासँग जोडिएका शब्दलाई बुझेर सम्पादन गर्नुभन्दा पनि त्यसलाई नसमेट्ने गरेका हुन्छन् । भाषा भन्ने कुरा अभ्यास र अभ्यस्तताको कुरा पनि हो । नेपाली भाषामा प्रयोग हुने शब्द यस्ता पनि छन् अन्य भाषाका शब्द जसलाई शुरु शुरुमा त्यसको शब्दको अर्थ सहित शब्द लेखिन्थ्यो तर अहिले खाएर त्यसलाई नअर्थाएको अवस्था पनि बुझ्ने अवस्था आयो ।

त्यस्तै नेपाली भाषाका शब्दका प्रभाव अन्य भाषाका शुरुमा गाह्रो लाग्ने गरे पनि अहिले त्यसलाई सजिलै बुझ्न सक्ने भएको अवस्था छ । पत्रकारिताको भाषामा पनि कुनै एउटै भाषाको शब्दले मात्र शासन गर्न भन्दा पनि सबै भाषालाई न्याय गर्ने गरि अन्तरघुलन गर्न सके त्यसले दिने फ्लेवरले आम नागरिकलाई पत्रकारिताले दिन खोजेको कुरा दिन सक्छ । भाषा जति सामाजिक रुपमा अन्तरघुलन भयो यसले क्षति भन्दा बढि फाइदा हुन्छ । भाषालाई संरक्षण गर्न नसके त्यसले रैथाले शब्दलाई मार्ने काम गरेको हुन्छ । नेपाल भित्र भएका धेरै भन्दा धेरै शब्दहरुलाई सकेसम्म प्रयोगमा ल्याउन सके यसले पत्रकारिताले बुझाउन खोजेको कुरा पनि सहज रुपमा बुझाउन सक्छ ।
भाषाको विविधता काठमाडौंमा भन्दा मोफसलमा छ तर न त सरकार न त पत्रकारिताको क्षेत्रमा क्रियाशिल संघसंस्थाले नै मोफसलका भाषाभाषीलाई समेट्ने र प्राथमिकता दिने प्रयास गरिएको छ । भाषा मात्रै हैन उपत्यककाका अन्य कला, साहित्य सस्कृतिलाई पनि मिडियाले त्यही खालको विभेद गरेको छ । तीजको समयमा मुलधारका मिडियाले पाना भर्ने गरि फोटो राख्छन् तर त्यत्तिकै महत्वका मिथिलान्चल क्षेत्रमा मनाइने अन्य पर्वलाई समेट्न राजधानी हिच्किचाउँछ ।

जगत नेपाल : भाषाको संरक्षण र प्राथमिकताको लागि प्राइभेट सेक्टरबाट स्थापना भएका मिडियाबाट संभव कम देखिन्छ । उनीहरुको उद्धेश्य नाफा कमाउने हो । यसको लागि सरकारी स्तरबाट संचालित मिडियाको सक्रियता जरुरी छ । राज्यको कुरा गर्दा भाषाभाषीका सन्दर्भका उसले बुझेको र उसले चाहेको भाषालाई मात्र संरक्षण गर्ने अवस्था छ । अहिले भाषालाई विगार्ने काम भएको छ । पत्रकारितामा भाषा भन्दा अगाडि त्यसले समेट्ने विषयवस्तु महत्वपुर्ण हो । भाषालाई सम्मान गर्ने वातावरण हुनुपर्छ तर मिडियाले तथ्य र विश्वसनीयता अहिलेको चुनौतीको अवस्था छ ।
अहिले मिडियालाई परिभाषित गर्नै गाह्रो भएको अवस्थाले पनि यसलाई व्यवस्थित गर्न नसक्ने अवस्था आएको हो । मिडियालाई आआफ्ना तरिकाले प्रयोग गर्ने काम भएको छ । व्यवसायिक रुपमा खुलेका मिडियाले भाषालाई विगार्ने काम भएको छ तर त्यस भन्दा अगाडि अन्य स्वार्थले खुलेका र प्रयोग भएका मिडियाले बढि बिगारेका छन् । यसमा पत्रकारको सिप तथा क्षमता विकासमा कति प्राथमिकता दिइएको छ भन्ने कुरालाई पनि हेर्न जरुरी छ । पत्रकारलाई अहिले पनि हाम्रोमा खासै एक्पोजर र तालिमहरु दिएको देखिदैन । निजी क्षेत्रबाट मात्र हैन राज्य स्तरबाट समेत पत्रकारको क्षमता विकासमा ध्यान दिएको छैन । यसकुरालाई प्राथमिकता दिन सके मात्रै पनि पत्रकारितामा सुधार ल्याउन सकिन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया