लुम्बिनी मेट्रोसिटीले बस सेवा सुचारु गर्ने

२७ असार २०७७, शनिबार ०   बिचार / प्रतिक्रिया


बुटवल ।  २७ असार – रुपन्देहीको लुम्बिनी मेट्रोसिटी प्रालिले रुपन्देहीको बेलहियाबाट बुटवल हुंदै नवलपरासीको बर्दघाटसम्म बस सेवा सुचारु गर्ने भएको छ । सरकारले तोकेका स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरेर प्रालिले आइतबारदेखि बेलहिया (भैरहवा) बाट बस चलाउने निर्णय गरेको हो । दैनिक ८ वटा वातानुकूलित बस आधा घण्टाको फरकमा चलाउने गरी सबै तयारी पूरा भएको प्रालिका अध्यक्ष धनबहादुर अधिकारीले बताए । बस सञ्चालनका लागि रुपन्देहीका प्रमुख जिल्ला अधिकारीसंग छलफल गरेर स्वीकृति लिइएको र चालक र सह–चालकहरुलाई पीपीई सेट, मास्क, सेनिटाइजर वितरण गरिएको,थर्मल गनको व्यवस्था गरिएको र चार महिनासम्म थन्किएका बस मर्मत सम्भार गरेर तयारी हालतमा राखिएको उनले बताए ।

सञ्चालनअघि बस पूर्णरुपमा डिसइन्फेक्सन गरिने, यात्रुको ज्वरो नापिने,यात्रुलाई मास्क अनिवार्य गरिने, नभएकालाई दिइने,४६ सिटे बसमा २३ जना यात्रु मात्र राखेर सामाजिक दूरी कायम गरिने अधिकारीले जानकारी दिए । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले बस नचलाउने निर्णय गरेको अवस्थामा यात्रुको सुविधाका लागि आफूहरुले सेवा सुचारु गर्न थालेको प्रालिका सचिव चक्रपाणी भण्डारीले बताए । महासंघले सरकारसंग राखेका माग र शर्त नाजायज नभएपनि विश्वव्यापी कोरोना महामारीका कारण सरकार नै अप्ठेरोमा परेका बेला सरकारलाई सघाउ पु¥याउनु व्यवसायीको पनि दायित्व सम्झेर सेवा सचारु गर्न थालिएको भण्डारीले बताए । ‘वातानुकूलित बस भएकाले बेलहियाबाट बुटवलको ९० रुपैयां र बर्दघाटसम्मको २ सय १० रुपैयां भाडा लिने निर्णय गरेका छौं’–उनले भने । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले सरकारले तोकेको मापदण्ड पूरा गरेर बस सञ्चालन गर्न उक्त प्रालिलाई स्वीकृति दिइएको बताए । ‘लामो समयसम्म बस नचलेको अवस्थामा सेवा सुचारु गर्नु राम्रो हो तर सरकारले तोकेका मापदण्ड पूरा गर्नुपर्छ’–उनले भने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया