रुपन्देहीमा लुम्बिनी मेट्रोसिटीले शुरु गर्यो सार्वजनिक यातायात सेवा

प्रकाशित मिति:

२८ असार, बुटवल । रुपन्देहीमा आइतबारदेखि सार्वजिनक यातायात सुचारु भएको छ । लकडाउन शुरु भएपछि चार महिनासम्म ठप्प सार्वजनिक यातायात रुपन्देहीमा पहिलोपटक लुम्बिनी मेट्रोसिटी प्रालिले सुचारु गरेको हो । आइतबार बिहान बुटवलको गोलपार्कबाट भैरहवासम्म ४६ सिटे वातानुकलित बसहरु चल्न थालो हुन् । सरकारले तोकेका स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरेर प्रालिले दैनिक ८ वटा वातानुकूलित बस आधा घण्टाको फरकमा चलाउन थालेको प्रालिका अध्यक्ष धनबहादुर अधिकारीले बताए ।

बसका सह–चालकलाई व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) र थर्मल गनको व्यवस्था गरी यात्रुको ज्वरो नापेर, यात्रुलाई मास्क र सेनिटाइजर अनिवार्य गरेर यातायात सेवा सुचारु गरिएको हो’–प्रालिका अध्यक्ष अधिकारीले भने–‘प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्रीसंग छलफल गरेर बर्दघाटसम्म पनि यातायात सञ्चालन गर्ने तयारी छ ।’ कन्ट्याक्ट ट्रेसिङ गर्न सजिलो होस् भनेर बसमा यात्रा गर्नेको नाम ठेगाना र मोबाइल नम्बर रजिस्टरमा टिपोट गरेर अनिवार्य राख्ने व्यवस्था समेत गरिएको छ ।

चलाउनुअघि बस पूर्णरुपमा डिसइन्फेक्सन गरिने, ४६ सिटे बसमा बढीमा २३ जना यात्रु मात्र राखेर सामाजिक दूरी कायम गरिने अधिकारीले बताए । विभिन्न माग राखेर नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले बस नचलाउने निर्णय गरेको अवस्थामा यात्रुको सुविधाका लागि आफूहरुले सेवा सुचारु गर्न थालेको प्रालिका सचिव चक्रपाणी भण्डारीले बताए । महासंघले सरकारसंग राखेका माग र शर्त नाजायज नभएपनि विश्वव्यापी कोरोना महामारीका कारण सरकार नै अप्ठेरोमा परेका बेला सरकारलाई सघाउ पु¥याउनु व्यवसायीको पनि दायित्व सम्झेर सेवा सचारु गर्न थालिएको भण्डारीले बताए । ‘वातानुकूलित बस भएकाले बुटवल–भैरहवाको ९० रुपैयां र भैरहवा–बर्दघाटसम्मको भाडा दर २ सय १० रुपैयां भाडा लिने निर्णय गरेका छौं’–उनले भने । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले सरकारले तोकेको मापदण्ड पूरा गरेर बस सञ्चालन गर्न उक्त प्रालिलाई स्वीकृति दिइएको बताए । ‘लामो समयसम्म बस नचलेको अवस्थामा सेवा सुचारु गर्नु राम्रो हो तर सरकारले तोकेका मापदण्ड पूरा गर्नुपर्छ’–उनले भने ।  सार्वजनिक यातायात सेवा सुचारु भएपछि निजी सवारी साधन नहुने सर्वसाधारण लाभान्वित भएका छन् ।