कार्यकर्तालाई प्रचण्डको आग्रहः कसैलाई राष्ट्रघाती र कसैलाई राष्ट्रवादी भन्दै नारा नलगाउनु

प्रकाशित मिति:

चितवन । सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्र कसैलाई राष्ट्रघाती र कसैलाई महान राष्ट्रवादी भन्दै जिन्दावाद र मूर्दावादको नारा नलगाउन कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको छ ।

आफ्नो निर्वाचन क्षेत्रसमेत रहेको चितवन पुग्नुभएका प्रचण्डले आइतबार यहाँ आयोजित कर्यक्रममा आफूलाई विगतमा केपी ओलीले लम्पसारवादी भनेर आरोप लगाएको तर, इतिहासले त्यसलाई गलत सावित गरिदिएको बताउनुभयो ।

आफू प्रधानमन्त्री भएपछि मधेसवादी दलहरुलाईसमेत समेटेर निर्वाचन सफल पारेको र लोडसेडिङको अन्त्य गरेको प्रचण्डले सुनाउनुभयो । उहाँले भन्नुभयो, ‘संविधान त बन्यो, निर्वाचन हुन्छ त रु भन्ने थियो । मैले मधेसका साथीहरुलाई पनि भरोसामा लिएर देशलाई निर्वाचन प्रक्रियामा अगाडि बढाएँ, त्यो लम्पसारवाद थियो त रु’

यस विषयमा प्रधानमन्त्री केपी ओलीसँग खुल्लमखुल्ला कुरा हुने गरेको प्रचण्डको भनाइ थियो । उहाँले पार्टीमा कोही दलाल, कोही महान राष्ट्रवादी नभएको बताउनुभयो । प्रचण्डले पार्टीमा कसैलाई दलाल र कसैलाई महान राष्ट्रवादी भन्दै जिन्दावाद र मूर्दावादको नारा नलगाउन कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।

सबै मिलेरै नाकाबन्दीको सामना गरेको र सबै मिलेरै नक्सा पारित गरिएको अध्यक्ष प्रचण्डले बताउनुभयो । उहाँले पार्टी फुट्ने र कार्यकर्ताहरु यता उता दौडनुपर्ने अवस्था नआउने पनि बताउनुभयो । र, यसका लागि नेतृत्वलाई खबरदारी गर्नसमेत उहाँले आग्रह गर्नुभयो ।

‘नयाँ नक्सा जारी गर्न मैले निर्देशन दिएको हुँ’

कार्यकारी अध्यक्ष प्रचण्डले लिम्पियाधुरा समेटिएको नक्सा जारी गर्न सरकारलाई आफूले नै निर्देशन दिएको र त्यसलाई प्रधानमन्त्री केपी ओलीले औपचारिकता दिएको बताउनुभयो ।

आफूले पार्टीको कार्यकारी अध्यक्षसहित पार्टी सञ्चालनको जिम्मा पाएलगत्तै पहिलो स्थायी समितिको बैठकमा नै नेपालले तुरुन्तै नक्सा प्रकाशित गर्नैपर्छ भनेर निर्देशन दिएको बताउनुभयो ।

भारतद्वारा मिचिएको भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्सा हामीले पनि तुरुन्तै प्रकाशित गर्नुपर्छ भनेर स्थायी कमिटीबाट सर्वसम्मत निर्णय गराएको उहाँले बताउनुभयो ।

@radionrn